४० वर्षअघि हराएको आमाको पर्स पाउँदा चकित

क्यानाडा । चार दशकअघि हराएको एउटा पर्स (वालेट) फेला परेको छ। अन्टारियोको गुएल्फकी एक महिलाकी आमाको ४० वर्षअघि हराएको पर्स फेला परेको हो।

आफ्नो कार्यालयमा कसैले उक्त पर्स ल्याएपछि भेनेसा अस्टिन चकित परेकी थिइन्।

त्यतिका अवधिसम्म पनि पर्स सुरक्षित रहेको पाउँदा आफू छक्क परेको अस्टिनले प्रतिक्रिया दिएकी छन्।

हराएको यति लामो समयसम्म उक्त पर्सलाई कसैले नचलाएको जस्तो अवस्थामा भेटिएको भन्दै उनी छक्क परेकी हुन्।

उक्त पर्स फेला पार्ने व्यक्ति डेट्रोइट, अमेरिकाका एन्ड्रयु मेडलेले आफू टोरन्टोस्थित इटन सेन्टरमा काम गरिरहेका बेला भेटेको जनाएका छन्।

अस्टिनले आफ्नी आमाले पर्स हराएको कुनै सम्झना नरहेको बताएकी छन्।

टोरन्टोमै हुर्किएकी उनले हरेक शनिबार परिवारसहित इटन सेन्टर जाने गरेको र त्यसको आसपास क्षेत्रमा घुम्ने गरेको सम्झिएकी छन्।

त्यही क्रममा आमाको पर्स हराएको वा चोरी भएको हुन सक्ने उनले अनुमान गरेकी छन्।

फूल बुट्टे चित्र कोरिएको पर्समा क्यानाडाको वन्डरल्याण्डको कुपन, टोरन्टो पब्लिक लाइब्रेरीको कार्ड, टीडी बैंकको ग्रीन मेसिन कार्ड, अस्टिनका बुवाले उनकी आमालाई दिएको चिनो र अध्यागमनसम्बन्धी केहि कागजातहरु फेला परेको छ।

पर्समा अस्टिन सानो हुँदाको एल साल्भाडोरमा खिचिएको फोटो पनि राखिएको पाइएको छ।

पर्स भेटाएका मेडले एक व्यवसायिक अनुसन्धानकर्ता हुन्। उनले कुनै विषयको खोजीका लागि इटन सेन्टरको पुरानो बाथरुमभित्र केहि कुराको खोजी गर्दै थिए।

त्यस क्रममा छतमा समेत हेर्नुपर्ने भयो। हेर्दै जाँदा पर्खालमा रहेको एउटा चेपमा उनले उक्त पर्स देखेका थिए।

पर्सको अवस्था हेर्दा उनले त्यो कसैले त्यहाँ जानाजान राखेको स्पष्ट हुने बताएका छन्।

त्यसपछि उनले पर्स आफूले लिए। त्यसमा भएका सामग्रीहरु हेरे। त्यसलाई सुरक्षित राखे।

अनि आफ्नो होटलको कोठामा लगेर परिक्षण गरेपछि पर्सको मालिक महिलाको खोजी सुरु गरेका थिए। त्यही क्रममा उनले अस्टिनलाई भेटेका हुन्।

सुरुमा उनले फेसबुक खोजी गरे। तर कसैसँग सम्पर्क भएन। त्यसपछि उनले ‘लिङ्कडइनमा अस्टिनले काम गर्ने ठाउँ पत्ता लगाएका थिए।

आमाको पर्स पाएपछि आफू भावुक बनेको अस्टिनले प्रतिक्रिया दिएकी छन्। उनले पर्स भेटेर ल्याइदिएकामा मेडलेप्रति कृतज्ञ भएको पनि बताइन्।

-‘नेपाल टच’ बाट


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *