पर्यटक आकर्षित गर्दै ‘उल्टो घर’

विराटनगर । आफ्नो क्षेत्रमा पर्यटक आकर्षित गर्न विभिन्न स्थानमा अनौठो जुक्ति अपनाइने गरेको छ । कतै ठाउँको नामअनुसारका स्तम्भ बनाएर अनि कतै दुर्लभ वन्यजन्तुको मूर्ति बनाएर पर्यटकलाई आकर्षित गर्ने गरिएको छ ।

मोरङको मिक्लाजुङमा अर्को अनौठो जुक्ति अपनाइएको छ । मिक्लाजुङ–३ टाँडीस्थित निसेलुङ पार्कमा पर्यटक आकर्षित गर्न उल्टो घर बनाइएको छ । घरको भित्री र बाहिरी संरचना सबै उल्टो अवस्थामा छन् ।

स्थानीय निसेलुङ पर्यटन प्रवर्द्धन समितिले ५२ लाख रुपैयाँ लागतमा उल्टो घर बनाएको हो । घरका सबै संरचना उल्टो बनाइएको छ ।

परैबाट हेर्दा अरु सामान्य घरभन्दा ठिक उल्टो पाराको संरचना रहेको घरले दैनिक सयौं पर्यटक आकर्षित गरिरहेको छ । घरको छानो भुइँमा, जगको भाग आकासतिर देखिन्छ ।

घरमित्र प्रवेश गर्दा पनि शयन कक्ष, शौचालय, भान्सा कोठा सबै उल्टो देखिन्छ । टेबल, दराज, कुर्सीहरु सबै उल्टो छन् ।

निसेलुङ पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष खगेन्द्र मादेनका अनुसार यस्तो उल्टो आकर्षक भवन बनाउनका लागि भारतको जलपाइगुढीबाट इन्जिनियर र मिस्त्री ल्याइएको थियो ।

विदेशमा यस्तो संरचना बनाएर पर्यटक तान्न अभ्यास रहे पनि नेपालमा नभएकाले यो नौलो विधि आफूहरुले अपनाएको मादेनले बताए ।

उक्त घर अवलोकन गर्न एकजनाका लागि सय रुपैयाँ प्रवेश शुल्क लिने गरिएको छ । त्यस क्षेत्रमा भ्युटावर, बालबालिकाका लागि पार्क, पिङ, फाउण्डेशन र मिसिलुङ मन्दिर पनि बनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *