एसईई परीक्षाको नतिजा प्रकाशन गर्ने तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी सुरु गरेको छ ।
नतिजा प्रकाशनका लागि उत्तरपुस्तिका परीक्षण, सम्परीक्षण, रुजु गर्ने काम सकेर हाल नतिजा कम्प्युटरमा प्रविष्ट गर्ने काम भइरहेको बोर्डले जनाएको छ ।
बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार असारको तेस्रो साताभित्र नतिजा प्रकाशन गर्ने कार्यतालिका अनुसार काम भइरहेको छ ।
उत्तरपुस्तिका परीक्षणको काम सकिएको र अब प्राविधिक काम सकिन बाँकी रहेको जनाइएको छ ।
असार २१ गतेभित्र नतिजा सार्वजनिक गर्ने तयारी रहेको शर्माले बताएका छन् ।
गत चैतमा भएको एसईई परीक्षामा देशभरका दुई हजार ३७ परीक्षाकेन्द्रमा सामुदायिक र निजी विद्यालयका गरी १२ हजार ८३ विद्यालयका चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थी सहभागी भएका थिए ।
तीमध्ये छात्रा दुई लाख ४२ हजार सात सय १२ र छात्र दुई लाख ४२ हजार छ सय ७४ जना थिए ।
कक्षा ९ देखि प्राविधिक धारसमेत पठनपाठन गराउँदै आएका विद्यालयबाट १५ हजार चार सय ६१ जना परीक्षार्थी एसईईमा सहभागी भएका थिए ।