११ महिनामा ११ लाख ६२ हजार नेपाली विदेशिए

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा विभिन्न उद्देश्यले करिब १२ लाखजना नेपाली विदेश गएका छन् ।
तीमध्ये रोजगारी तथा अध्ययनको उद्देश्यले विदेश जानेको संख्या ८ लाख ५० हजारभन्दा बढी छ ।
वैदेशिक रोजगार कार्यालयका अनुसार चालु आर्थिक वर्षमा सबैभन्दा बढी श्रमका लागि म्यानपावर कम्पनीमार्फत् विदेशिएका नेपालीको संख्या छ ।
अधिकांश नेपाली कामदारका रुपमा खाडी मुलुक गएका छन् । गत वर्ष रोजगारीका लागि ६ लाख २८ हजार नेपाली विदेश गएका थिए ।
यो वर्ष ४ लाख ३६ हजारले पहिलोपटक श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिनेमा युवाको संख्या बढी छ ।
नेपालबाट संस्थागत रुपमा १ सय ११ र व्यक्तिगत पहलमा थप ६७ गरी १ सय ७८ मुलुकमा वैदेशिक रोजगारीमा जाने गरेका छन् ।
अध्ययनका लागि विदेश जाने नेपाली विद्यार्थीको संख्या पनि बढेको छ । यस वर्ष ७१ मुलुकमा अध्ययनका लागि १ लाख ५ हजार ९२ विद्यार्थीले अनुमति लिइसकेका छन् ।
यो संख्या अघिल्लो वर्षको तुलनामा २५ सयले बढी हो ।
समग्रमा यो वर्ष ११ लाख ६२ हजार ७२४ नेपाली विभिन्न प्रयोजनका लागि विदेश गएको अध्यागमन विभागको तथ्यांक छ ।
श्रम र शिक्षाका लागि मात्र नभइ भ्रमण, आफन्त भेटघाट, सरकारी कार्यक्रमअनुसार पनि नेपालीहरु विदेश जाने गरेका छन् ।