पूर्वी नेपालमा बाढीपहिरो : एकजनाको मृत्यु, २६ बेपत्ता

काठमाडौ । पूर्वी नेपालमा बाढी र पहिरोका कारण जनजीवन प्रभावित बनेको छ । मनसुन सुरु भएर निरन्तर पानी पर्ने क्रमसँगै बाढीपहिरोबाट क्षति हुने क्रम बढेको छ ।
ताप्लेजुङ, पाँचथर, संखुवासभालगायत जिल्लामा बाढीपहिरोको बढी प्रभाव देखिएको छ ।
पहिरो खसेर हेवा खोला थुनिएिपछि संखुवासभामा १६ जना बेपत्ता भएका छन् । संखुवासभामा एकजनाको मृत्यु भएको छ।
चैनपुर नगरपालिका–४ र पाँचखपन नगरपालिका–९ मा हेवा खोला थुनिएपछि बाढी आउँदा चैनपुर–४ मा निर्माणाधीन सुपर हेवा हाइड्रोपावरको संरचनामा क्षति पुगेको प्रहरीले जनाएको छ ।
बाढी आएपछि उक्त हाइड्रोपावरमा काम गर्ने १६ जना मजदुरहरू सम्पर्कविहीन भएका हुन् । बाढीले चैनपुरमा ५ वटा घर बगेका छन् ।
यसैगरी पाँचथर र ताप्लेजुङमा १० जना बेपत्ता भएका छन् । पाँचथरको हेवा खोलामा आएको बाढीले फिदिम र फालेलुङमा गरी ६ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।
हेवा खोलाको बाढीमा हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम–१० का सन्जोग लोवा बेपत्ता भएका हुन् ।
यस्तै, बाढीले पाँचथरको फिदिम–४ हेवाखोलामा गिट्टी कुटेर गुजारा चलाँउदै आएका एकजना, फालेलुङ–३ मा एकजना र फिदिम–४ माझीटारमा दुईजना बेपत्ता भएको प्रहरीले जनाएको छ । उनीहरुको खोजी भइरहेको छ ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा पहिरोमा परी एकै घरका तीन जनासहित चारजना बेपत्ता भएका छन् । शनिबार राति घर माथिबाट खसेको पहिरोमा परी स्थानीय यामकुमार बुढाथोकीकी श्रीमती भगीमाया, बुहारी सन्ध्या बुढाथोकी र नाति प्रज्ज्वल बेपत्ता भएका हुन् । स्थानीय हर्कबहादुर तामाङका छोरा गणेश तामाङ पनि बेपत्ता भएको प्रहरीले जनाएको छ ।
यो वर्षको मनसुनजन्य घटनाबाट देशभर १२ लाख ५४ हजार जनाभन्दा धेरै नागरिक प्रभावित हुने पूर्वानुमान सरकारले गरेको छ ।