कोशी र गण्डकी प्रदेशमा धेरै पानी पानी पर्ने, बाढीपहिरोको जोखिम

काठमाडौं । कोशी र गण्डकी प्रदेशका केही ठाउँमा आज आइतबार ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

लगातार पानी पर्ने क्रमसँगै बाढी र पहिरोको जोखिम बढेको भन्दै उनीहरुले सावधानी अपनाउन आग्रह गरेका छन् ।

शनिबार राति पनि यी दुई प्रदेशका केही ठाउँमा ठूलो पानी परेको थियो । ताप्लेजुङ, पाँचथर र संखुवासभा लगायत जिल्लाका खोलामा आएको बाढीले धनजनको क्षति भएको छ ।

पाँचथर र ताप्लेजुङमा पहिरोमा परेर १० जना बेपत्ता भएका छन् । संखुवासमामा खोलाको बाढीले बगाएर एकजनाको मृत्यु भएको छ । १६ जना सम्पर्कविहीन बनेका छन् ।

प्रहरीले उनीहरुको खोजी भइरहेको जनाएको छ । बाढी पहिरोबाट प्रभावित स्थानीय बासिन्दाको उद्धारका साथै क्षतिको विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

पानी परिरहेको क्षेत्रमा अझै पनि पहिरोको जोखिम रहेकाले त्यहाँका बासिन्दालाई सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

मनसुन भित्रिएपछि जेठ ३१ गतेदेखि गण्डकी र कोशीका पहाडी क्षेत्रमा लगातार पानी परिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *