फिलिपिन्ससँग खेल्दै नेपाली राष्ट्रिय फुटबल टिम

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले आज फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेल्दैछ । मनिलामा हुने खेल नेपाली समयअनुसार साँझ पौने ५ बजे सुरु हुनेछ । साफ च्याम्पियनपसिप अघि नेपालले खेल्न लागेको यो एक मात्र अभ्यास खेल हो ।

सहिद स्मारक ए डिभिजन लिग सकिएपछि राष्ट्रिय टिमले स्वदेशमा अभ्यासका लागि एक दिनको समय पाएको थियो । फिलिपिन्स विरुद्धको खेल मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बेर्तो एनेसका लागि आफ्नो टोलीको स्तर थाहा पाउने सुनौलो अवसर हो ।

यो खेलले नेपाली टोलीलाई कमजोरी सुधारको मौका दिनेछ । नेपाल र फिलिपिन्सबीच यसअघि ६ पटक भेट भएको थियो । जसमा नेपालले एक खेलमा जित हात पार्दा एकमा बराबरी खेलेको थियो ।

गत मार्च पछि नेपाल पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्दैछ । घरेलु मैदानमा भएको भुटान र लाओस सम्मिलित थ्री नेसन्स कपमा नेपाल च्याम्पियन बनेको थियो ।

साफ खेल्ने टोलीमा विमल पान्डे, सिमान्त थापा र लाकेन लिम्बु नयाँ अनुहार हुन् । फिलिपिन्सबाट नेपाली टोली साफका लागि सिधै भारतको बेंग्लोर प्रस्थान गर्नेछ । साफ आगामी असार ६ गतेदेखि सुरु हुनेछ । समूह ‘ए’ मा नेपाल, भारत, पाकिस्तान र कुवेत छन् । समूह ‘बी’ मा माल्दिभ्स, भुटान, लेबनान र बंगलादेश छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *