भित्रियो मनसुन, गर्मीबाट राहत मिल्ने

काठमाडौं । यस वर्षको मनसुन नेपाल भित्रिएको छ । यसपालि सरदर मितिभन्दा एक दिन ढिलो गरी मनसुन भित्रिएको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको कोशी प्रदेश, मधेस प्रदेशको पूर्वी भाग, बाग्मती प्रदेशका धेरैजसो भूभाग र गण्डकी प्रदेशका पूर्वी भूभागमा मनसुन आइपुगेको छ ।

अरु भूभागमा भने केही दिनमा मनसुन पुग्ने देखिएको महाशाखाले विशेष बुलेटिन प्रकाशित गरी जनाएको छ ।

मनसुन भित्रिएर नियमितजसो वर्षा हुने भएपछि चर्को गर्मीबाट राहत मिल्ने भएको छ । झण्डै दुई सातायता बढेको अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित बनेको छ ।

सामान्यतया नेपालमा जुन महिनाको १३ तारिख मनसुन भित्रिने गरेको छ । यस वर्षको मनसुन एक दिन ढिला गरी नेपालमा प्रवेश गरेको महाशाखाले जनाएको छ ।

नेपालमा जुन, जुलाई, अगस्ट र सेप्टेम्बर चार महिनालाई मनसुनको अवधि मानिन्छ । यसपालिको मनसुनमा देशभर १२ लाख ५४ हजारभन्दा धेरै नागरिक प्रभावित हुने अनुमान सरकारले गरेको छ ।

विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २ लाख ८६ हजारभन्दा धेरै घरधुरीमा असर पर्ने सम्भावना छ ।

प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले मनसुनजन्य विपदबाट नागरिकलाई जोगाउन आवश्यक तयारी भइरहेको जानकारी दिएका छन् ।

यसपालिको मनसुनबाट १२ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *