यसपालिको मनसुनबाट १२ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान

काठमाडौं । यसपालिको मनसुनबाट देशभर १२ लाख ५४ हजारभन्दा धेरै मानिस प्रभावित हुने अनुमान सरकारले गरेको छ । विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मनसुनबाट २ लाख ८६ हजारभन्दा धेरै घरधुरीमा असर पर्ने सम्भावना छ ।

सम्भावित असरलाई ध्यान दिंदै मनसुनका बेला हुने विपदबाट नागरिकलाई जोगाउन तयारी भइरहेको प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताएका छन् ।

मनसुनबाट पहिरोको उच्च जोखिममा रहेका जिल्लाहरूमा इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, ओखलढुङ्गा, ललितपर, नुवाकोट, धादिङ, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, बाग्लुङ, प्युठान, रोल्पा, रुकुम पश्चिम, दैलेख, अछाम र बैतडी रहेको प्राधिकरणले उल्लेख गरेको छ ।

यसैगरी बाढीबाट प्रभावित हुने जिल्लाहरूमा झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली र कञ्चनपुर छन् ।

प्राधिकरणका अनुसार कोशी प्रदेशमा ३,०१,१४३ घरधुरीका ६८,९११ नागरिक प्रभावित हुने अनुमान छ । यस्तै मधेस प्रदेशमा४,०३,१८० घरधुरीका ९२,२६१, बागमती प्रदेशमा ९६,८५८ घरधुरीका २२,३९३ नागरिक प्रभावित हुने अनुमान गरिएको छ ।

गण्डकी प्रदेशमा ६९,७४४ घरधुरीका १५,९६०, लुम्बिनी प्रदेशमा १,९९,८६ घरधुरीका ४५,७३५, कर्णाली प्रदेशमा ३५,३३३ घरधुरीका ८,०८५ र सुदूरपश्चिम प्रदेशमा १,४७,०६० नागरिक प्रभावित हुने प्राधिकरणको अनुमान छ ।

नेपालमा सामान्यतया जेठ अन्तिम साताबाट मनसुन प्रवेश गर्दछ । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमल राम जोशीले यस वर्षको मनसुन जेठ ३१ वा ३२ गते पूर्वबाट प्रवेश गर्ने सम्भावना रहेको बताए । नेपालमा मनसुन सरदर एक सय दिन क्रियाशील हुने गरेको छ ।

आइतवार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना स्वीकृत गरेको छ ।

प्राधिकरणका अनुसार मनसुनजन्य विपद् जोखिमको प्रभावकारी प्रतिकार्यका लागि सबै सुरक्षा निकाय अन्तर्गतका खोज उद्धार जनशक्ति र विभिन्न निकायअन्तर्गत रहेका विपद् उद्धार तथा राहतसँग सम्बन्धित स्रोत साधन यन्त्र उपकरण सातवटै प्रदेशमा तयारी अवस्थामा राखिएको छ ।

देशका ३४ ठाउँमा जोखिमको सूचना दिने स्मार्ट साइरन जडान, विपद् सामूहिक उद्धार गाडी तथा एम्बुलेन्सहरू खरिद गरी सातवटै प्रदेश र काठमाडौंमा उपत्यकामा एकरएक वटा एम्बुलेन्स रहने व्यवस्था मिलाइएको पनि प्राधिकरणले जनाएको छ ।

नेपालमा बाढी, पहिरो र भारी वर्षा प्रमुख मनसुनजन्य विपद् हुन् । मनुसनको अवधिमा झाडापखाला, हैजाजस्ता पानीजन्य रोग, सर्पदंश, डेङ्गी, मलेरियाजस्ता किटजन्य प्रकोप बढ्ने गरेको प्राधिकरणले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *