१ देखि १२ सम्मका उत्कृष्ट विद्यार्थीलाई ‘गंगाराम छात्रवृत्ति’

इलाम । दिवंगत गंगादेवी घिमिरे र रामप्रसाद घिमिरेको नाममा स्थापित ‘गंगाराम घिमिरे अक्षयकोष’ ले माईजोगमाई गाउँपालिकास्थित नामसालिङ माध्यमिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

कक्षा एकदेखि १२ सम्म पहिलो, दोस्रो र तेस्रो हुने विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको हो ।

अमेरिका निवासी जेठा छोरा मोहन घिमिरे र बुहारी बिष्णुमाया घिमिरेद्वारा दिवंगत आमा गंगामाया घिमिरे र पिता रामप्रसाद घिमिरेको नाममा स्थापना गरेको ६ लाख २५ हजारको अक्षयकोष गत वर्ष घोषणा गरिएको थियो ।

कोषको वार्षिक ब्याजबाट प्रत्येक वर्ष विद्यार्थी हरुलाई छात्रवृत्ति प्रदान गर्न थालिएको विद्यालयका प्रधानाध्यापक प्रदिप देबले बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यज्ञनिधि अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दाताहरुको तर्फबाट गीता आचार्य, भेषराज घिमिरे र डेगकुमारी घिमिरेको सहभागिता थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यज्ञनिधि अधिकारी, प्रधानाध्यापक प्रदिप देब र माईजोगमाई गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष राम घिमिरेले छात्रवृत्ति हस्तान्तरण गरेका थिए ।

अक्षयकोषलाई भविष्यमा बढाउँदै लैजाने लक्ष्य रहेको अक्षय कोष सञ्चालक समितिका सदस्य भेषराज घिमिरेले बताए ।

गरिब र जेहेन्दार विद्यार्थीहरुलाई अध्ययनका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले अक्षयकोष स्थापना गरिएको दाता डेगकुमारी घिमिरेको भनाई छ ।

गंगाराम अक्षयकोषले विद्यार्थीहरुलाई प्रेरणा र हौसला प्रदान गर्ने विश्वास लिइएको व्यवस्थापन समिति अध्यक्ष अधिकारीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *