१० महिनामा समग्र व्यापार घाटामा १६ प्रतिशतले कमी

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा वैदेशिक व्यापारमा सुधार आएको छ । यो अवधिमा विदेशबाट आउने रेमिट्यान्समा पनि उल्लेख्य वृद्धि देखिएको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनले समग्र व्यापार घाटामा १५ दशमलव ९ प्रतिशतले कमी आएको देखाएको हो ।
चालु आर्थिक वर्षको १० महिनामा निर्यात २४ दशमलव ५ प्रतिशत र आयात १६ दशमलव ८ प्रतिशतले घटेको बैंकले जनाएको छ ।
त्यस्तै रेमिट्न्स आप्रवाहमा पनि सुधार देखिएको छ । गत वर्ष सोही अवधिका शून्य दशमलव ५ प्रतिशत घटेको रेमिट्यान्स यस वर्ष भने २३ दशमलव ४ प्रतिशतले बढेर १० खर्ब ५ अर्ब १८ करोड रुपैयाँ पुगेको छ ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३ दशमल ४ प्रतिशतले बढेर ७ अर्ब ७० करोड डलर पुगेको बैंकले जनाएको छ ।
राष्ट्रबैंकका अनुसार वार्षिक उपभोक्ता मुद्रास्फीति ७ दशमलव ४१ प्रतिशत छ । जुन गत वर्ष ७ दशमलव ८७ प्रतिशत थियो ।
पर्यटन आगमन वृद्धि भएसँगै भ्रमण आय पनि ९३ प्रतिशतले बढेर ५१ अर्ब ८८ करोड पुगेको छ । गत वर्ष यो अवधिका भ्रमणबाट २६ अर्ब मात्रै आय भएको थियो ।
१० महिनासम्म चालु खाता घाटा ५४ अर्ब ६७ करोड पुगेको जनाइएको छ । गत वर्ष यसै अवधिमा ५ खर्ब ४५ अर्ब घाटामा थियो ।