तराईमा अझै केही दिन तातो हावा चल्ने

काठमाडौं । तराईका जिल्लामा अझै केही दिन तातो हावा ‘लु’ चल्ने सम्भावना छ । मौसमविद्का अनुसार यस्तो अवस्थामा सतर्कता अपनाउनुपर्छ ।
तराई मधेसमा अझै केही दिन पानी पर्ने सम्भावना नरहेकाले गर्मीबाट जोगिन विज्ञले आग्रह गर्दै आएका छन् ।
तराईका जिल्लामा अधिकतम र न्यूनतम तापक्रम बढ्नुका साथै तातो हावासमेत चल्दा जनजीवन प्रभावित बनेको छ ।
सिमरा र जनकपुरको अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस पुगेको छ । अरु जिल्लाको तापक्रम ४० डिग्री सेल्सियसको हाराहारीमा छ ।
जनकपुर, विराटनगर र धरानको न्यूनतम तापक्रम नै २७ डिग्री सेल्सियस भन्दा धेरै पुगेको छ । यस्तै, नेपालगञ्ज, भैरहवा र दाङको घोराहीको न्यूनतम तापक्रम २६ डिग्री सेल्सियसको हाराहारीमा छ।
अधिकतमसँगै न्यूनतम तापक्रम पनि बढेकाले तराई मधेसका जिल्लामा गर्मी अत्यधिक बढेको हो ।
पहाडी क्षेत्रका एक दुई ठाउँमा बुधबार बेलुकी पख मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।