गर्मी बढेसँगै मध्य तराईमा तातो हावाले जनजीवन प्रभावित

काठमाडौं । तापक्रम अत्यधिक बढिरहेका बेला मध्य तराईका विभिन्न स्थानमा तातो हावासहित ‘लू’ चल्न थालेको छ । धेरैजसो स्थानमा तापक्रम बढेर ४० डिग्रीभन्दा माथि पुगेको छ ।

बिहानैदेखि चर्को घाम लाग्ने अनि तातो हावा चलेर जनजीवन प्रभावित बनेको छ । सार्वजनिक स्थानमा सर्वसाधारणको चहलपहल निकै घटेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेस प्रदेश र लुम्बिनी प्रदेशमा तापक्रम सबैभन्दा बढी छ ।

नवलपरासीको दुम्कौलीमा तापक्रम ४३ डिग्री सेल्सियस पुगेको छ । भैरहवा, सिमरा, जनकपुर र गौरमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ ।

भैरहवा र सिमरामा ४० दशमलव ५ तथा जनकपुरमा ४० दशमलव ४ डिग्री सेल्सियस मापन भएको छ । नेपालगञ्जमा उच्चतम तापक्रम ३८ दशमलव ८ र वीरेन्द्रनगरमा ३६ दशमलव ८ छ ।

झापा, विराटनगर, सुनसरीलगायत पूर्वी तराईमा पनि केही दिनयता तापक्रम ४० भन्दा माथि पुगेको छ । गर्मी अत्यधिक बढेपछि धेरै स्थानका विद्यालयमा केही दिनका लागि बिदा दिइएको छ ।
विभागका अनुसार तापक्रम उच्च भएका तराईका क्षेत्रमा अझै केही दिन पानी पर्ने सम्भावना छैन । उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रुपमा बढ्दो रहेकोले सचेत रहन महाशाखाले अनुरोध गरेको छ ।
तातो हावा तथा ‘लू’ का कारण थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता हुने गर्छ ।

गर्मीको समस्याबाट बच्न सकेसम्म बाहिर ननिस्कन, हल्का लुगा लगाउन, बाहिर निस्कनै परे टाउको छोप्ने, टोपी लगाउन, पटक–पटक पानी तथा जुस, सर्बत जस्ता झोल पदार्थ प्रशस्त मात्रामा पिउन सुझाव दिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *