सुनकोशी नदीमा गाडी खस्दा ३ जना बेपत्ता

काठमाडौं । मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका ७, को लौकुनबाट सुनकोशी नदीमा शुक्रबार गाडी खस्दा तीनजना बेपत्ता भएका छन् ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का कर्मचारीहरु चढेको गाडी नदीमा खसेको हो ।

भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको सीटीईभीटीको बीएबी ७४६७ नम्बरको गाडी सुनकोशी नदीमा खस्दा तीनजना बेपत्ता भएका हुन् ।

गाडीमा रहेका प्रशासन शाखाका निर्देशक तनहुँ भानु नगरपालिका ९ का ५७ वर्षीय कृष्ण केसी, पूर्वी नवलपरासी प्रगति नगरपालिका ७ का योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र इलामका ३२ वर्षीय विद्युत् प्राविधिक भानु पौडेल बेपत्ता भएको प्रहरीले जनाएको छ ।

चालक कृष्ण चौधरी पौडिएर निस्किएका छन् । उनको खुर्कोटमा रहेको शुभजीवन अस्पतालमा उपचार भइरहेको सिन्धुली प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *