विश्वकप छनोटः नेपालले स्कटल्याण्ड र नेदरल्याण्ड्ससँग खेल्ने

काठमाडौं । जिम्बाब्वेमा हुने विश्वकप छनोटको अन्तिम तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम दक्षिण अफ्रिका पुगेको छ । त्यहाँ नेपाली राष्ट्रिय क्रिकेट टिमले स्कटल्याण्ड र नेदरल्याण्ड्ससँग दुई अभ्यास खेल खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार सार्वजनिक गरेको तालिकाअनुसार नेपालले दक्षिण अफ्रिकामा एक साता प्रशिक्षण गर्नेछ ।

बुधबार दक्षिण अफ्रिका पुगेको नेपाली टोली जुन १ देखि ७ सम्म प्रशिक्षणमा सहभागी हुनेछ । नेपालले स्कटल्याण्डसँग जुन ८ र नेदरल्याण्ड्ससँग जुन १० मा अभ्यास खेल खेल्नेछ । दुवै खेल ५० ओभरको भए पनि ओडीआई मान्यता भने हुने छैन ।

दक्षिण अफ्रिकामा तयारीपछि नेपाली टोली उतैबाट जिम्बाब्वे जानेछ । विश्वकप छनोट जुन १८ देखि जुलाई ९ सम्म हुनेछ । त्यसमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । नेपालले विश्वकप छनोटअघि जिम्बाब्वेमा पनि दुई अभ्यास म्याच खेल्नेछ ।

नेपालले जुन १३ मा यूएई र जुन १५ मा ओमानसँग अभ्यास खेल खेल्ने क्यानले जनाएको छ ।

विश्वकप छनोटमा समूह ‘ए’ मा रहेको नेपालले जुन १८ मा पहिलो खेल घरेलु टोली जिम्बाब्वेसँग खेल्नेछ । नेपालको समूहमा वेष्ट इन्डिज, नेदरल्याण्ड्स र अमेरिका पनि छन् । नेपालले जुन २० मा अमेरिका, जुन २२ मा वेष्ट इन्डिज तथा जुन २४ मा नेदरल्याण्ड्ससँग खेल्नेछ ।

समूह ‘बी’ मा श्रीलंका, आयरल्याण्ड, स्कटल्याण्ड, यूएई र ओमान छन् ।

दुवै समूहको शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन् । त्यहाँबाट फाइनल पुग्ने शीर्ष दुई टोलीले अक्टोबर–नोभेम्बरमा भारतमा हुने विश्वकपका लागि स्थान बनाउनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *