भारतले नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने

काठमाडौं । भारतले नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने घोषणा गरेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा हैदरावाद हाउसमा आयोजित पत्रकार सम्मेलनमा सम्बोधन गर्दै मोदीले यो घोषणा गरे ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले भने, ‘आगामी १० वर्षमा भारतले नेपालबाट १० हजार मेगावाट बिजुली किन्छ ।’

प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा नेपालले बिजुलीलाई प्राथमिकतामा राखेको थियो ।

यसबारे सम्झौतापत्रमा हस्ताक्षर नभए पनि संयुक्त वक्तव्यमा बिजुली किन्ने विषय समेटियो भने यो नेपाली बिजुलीका लागि महत्वपूर्ण सम्झौता हुनेछ ।

भारतले ४५३ मेगावाट बिजुली लैजानका लागि गत वर्षदेखि नै बाटो खोलिसकेको छ ।

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा तल्लो अरुण र फुकोट कर्णाली परियोजना विकासका लागि सम्झौता समेत भएको छ ।

६६९ मेगावाट क्षमताको तल्लो अरुण परियोजना विकास सम्झौता (पीडीए) भएको छ । यसैगरी ४८० मेगावाट क्षमताको फुकोट कर्णालीको सम्बन्धमा द्विपक्षीय सम्झौता भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *