गर्मी बढेको बढ्यै : ‘तत्काल पानी पर्ने सम्भावना छैन’

काठमाडौं । केही दिनयता देशभर गर्मी निकै बढेको छ । तत्काल पानी पर्ने सम्भावना नरहेकाले गर्मी अझै बढ्ने अनुमान गरिएको छ ।
बिहानैदेखि चर्को घाम लाग्ने गरेकाले तराईका सहर बजारमा सर्वसाधारणको चहलपहल कम देखिन थालेको छ ।
अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने सम्भावनालाई ध्यान दिंदै विराटनगर, इटहरी, इनरुवालगायत पूर्वी तराईका विभिन्न स्थानीय तहले विद्यालयहरुमा बिदा दिने निर्णय गरेका छन् ।
वर्षे बिदाबाट कट्टी हुने गरी कसैले दुई दिन, कसैले एक सातासम्म सबै विद्यालयमा बिदा दिने निर्णय गरेका हुन् ।
केही दिनयता काठमाण्डौसहित देशभरको अधिकतम तापक्रम दुईदेखि तीन डिग्री सेल्सियसले बढेको छ । गत सोमवार र मंगलवार काठमाडौको अधिकतम तापक्रम २९ दशमलव ८ डिग्री सेल्सियसको हाराहारीमा थियो । हिजो बुधबार ३२ दशमलव २ डिग्री सेल्सियसमा पुगेको थियो ।
तराईका धेरैजसो क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस पुगेको छ । केही क्षेत्रमा यसभन्दा बढी तापक्रम पुगेको छ ।
सिमराको अधिकतम तापक्रम ४१ दशमलव २ डिग्री सेल्सियस र भैरहवाको ४० दशमलव ९ डिग्री सेल्सियस पुगेको छ ।
यस्तै, नेपालगञ्ज, विराटनगर, धरान लगायत क्षेत्रको मौसम ४० डिग्री सेल्सियसको हाराहारीमा छ।
अझै तीन दिन मौसम यस्तै रहने अनुमान रहेको मौसमविद् रोजर लामिछानेले बताएका छन् । तराईका जिल्लामा तातो हावा चल्ने सम्भावनासमेत रहेको बताइएको छ ।
तराई मधेसका धेरैजसो जिल्लामा केही दिन अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्ने अनुमान रहेकाले तातो हावा चल्ने र यसले स्वास्थ्यमा प्रतिकुल असर पुर्याउन सक्ने भन्दै सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।
घाम चर्किएका बेला सकेसम्म घर बाहिर ननिस्कन र निस्कनै परे पातलो कपडाले टाउको छोप्न वा छाता ओढ्न विज्ञको सुझाव छ ।
प्रशस्त मात्रामा पानी पिउन तथा फलफूल खान, खेतबारीका काम बिहान बेलुका मात्रै गर्न विज्ञले सुझाव दिएका छन् ।
—
-चर्को गर्मीबाट राहत पाउन इनारबाट पानी निकालेर नुहाउँदै तराईका बासिन्दा । तस्बिर सौजन्यः चन्द्रकिशोर