दरबार हत्याकाण्डको अनुसन्धानलाई निष्कर्षमा पुर्याउने दाबी

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दरबार हत्याकाण्डको अनुसन्धान गरी निष्कर्षमा पुर्याउने दाबी गरेका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार भएको माओवादी सल्लाहकार समिति र ज्येष्ठ कम्युनिस्ट मञ्चको संयुक्त बैठकमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।

ठूला हत्याकाण्डका नामले परिचित दरबार हत्याकाण्ड, गौर हत्याकाण्डलगायत काण्डहरुको अनुसन्धान गरी निचोडमा पुग्ने दाहालले बताए ।

उनले २०४६ सालको जनआन्दोलनपछिका सबै उच्च पदस्थ अधिकारीका सम्पत्ति विवरणहरुबारे खोजी गर्ने प्रतिबद्धता पनि जनाए ।

भ्रष्टाचारका काण्ड र ठूला हत्याकाण्डबारे अनुसन्धान गरी निष्कर्षमा पुर्याउनुपर्ने र नागरिकलाई यसबारेका शंकाहरुको छिनोफानो गर्नुपर्ने आवश्यकता रहेको प्रधानमन्त्री दाहालको भनाइ छ ।

‘संसदमा पनि भनेको छु अब भ्रष्टाचारका सबै फाइलहरु खोलिनेछन्’ उनले भने, ‘२०४६ सालको ऐतिहासिक जनआन्दोलनपछिका सबै उच्च पदस्थ अधिकारीका सम्पत्ति विवरणहरुको बारेमा खोजीनीति गरिन्छ । ठूलाठूला भ्रष्टाचारका काण्ड भनेर जो स्थापित छन्, तिनको खोजीनीति गरिन्छ ।’

प्रधानमन्त्री दाहालले बुधबारबाट हुने भारत भ्रमणका क्रममा विद्युतको बजार क्षमताको ग्यारेन्टी हुनेगरी छलफल गर्ने प्रतिबद्धता पनि जनाए ।

उनले भारत भ्रमणमा सीमानाका विवादको समाधान गर्ने उपाय खोज्ने र विश्वासको वातावरण बनाउन पहल गर्ने जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *