नेपालले मलेसियालाई ७ विकेटले हरायो

काठमाडौं । मलेसियाविरुद्धको दोस्रो टी–ट्वान्टी खेलमा नेपाली राष्ट्रिय महिला टिमले सहज जित हात पारेको छ । बांगीस्थित वाईएसडी यूकेएम क्रिकेट ओभलमा आज भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई ७ विकेटले पराजित गरेको हो ।

मलेसियाले नेपाललाई ९८ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा आएको नेपालले १७ ओभर ३ बलमा ३ विकेट गुमाएर १०३ रन बनायो । नेपालको लागि रुविना क्षेत्रीले अविजित रहँदै सर्वाधिक २९ रन बनाइन् । यस्तै कविता कुँवरले २६ तथा सीता रानामगरले २३ रनको योगदान गरिन् ।

विन्दु रावलले १७ रन बनाइन् । सम्झना कुमारी खड्का २ रनमा अविजित रहिन् । मलेसियाकी आईसा एलिसा, निक नुर एटिला र विनिफ्रेड आन्नेले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर ९७ रन बनाएको थियो । पहिलो खेलमा नेपालविरुद्ध जित हात पारेको मलेसियाले दोस्रो खेलमा भने राम्रो प्रदर्शन गर्न सकेन । मलेसियाकी मास एलिसा यास्मिनले सर्वाधिक २८ रन बनाइन् ।

३४ बलको सामना गरेकी उनले २ चौका प्रहार गरिन् । यस्तै ओपनर ब्याटर विनीफ्रेड अन्ने र वान जुलिया वान मोहद रोस्दीले समान २०-२० रन बनाए । आइन्ना हामिजाह हासिम १४ रनमा अविजित रहिन् भने अन्य ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् ।

नेपालकी रुविना क्षेत्रीले २ विकेट लिइन् भने कविता कुँवर र इन्दु बर्माले १-१ विकेट लिए । आजको खेलमा रुविना प्लेयर अफ दि म्याच घोषित भइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *