१० महिनामा ९९५ नेपालीको विदेशमा मृत्यु

काठमाडौं । रोजगारीका लागि विदेश गएकामध्ये १० महिनाको अवधिमा ९९५ जना नेपालीको मृत्यु भएको छ ।
यो आर्थिक वर्षको १० महिनामा विभिन्न २३ मुलुकमा रहेका ९९५ जनाको त्यहीँ मृत्यु भएको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।
सबैभन्दा धेरै खाडीका देश र मलेसियामा नेपालीहरूको मृत्यु भएको तथ्यांक बोर्डको छ ।
उक्त अवधिमा साउदी अरबमा एक महिला र २८७ पुरुष गरी २८८ जनाको मृत्यु भएको छ ।
मलेसियामा २२८ जना पुरुष र तीनजना महिला गरी २३१ जनाको मृत्यु भएको बोर्डले उल्लेख गरेको छ ।
यस्तै, कतारमा एकजना महिला र १८१ जना पुरुष गरी १८२ जनाको रोजगारीकै क्रममा मृत्यु भएको छ भने यूएईमा आठ जना महिला र १४० जना पुरुष गरी १४८ जनाको मृत्यु भएको बोर्डले जनाएको छ ।
कुवेतमा नौजना महिला र ५० जना पुरुष गरी ५९ जनाको र बहराइनमा एक महिला र १७ जना पुरुष गरी १८ जनाको मृत्यु भएको छ ।
यसैगरी, दक्षिण कोरियामा १७ जना, ब्रुनाइमा २, क्रोएसियामा ४, साइप्रसमा ५, इजराइलमा २, जापानमा ८, जोर्डनमा २, मकाउमा १, मालदिभ्समा ३, माल्टामा २, ओमानमा ७, पोर्चुगल र पोल्याण्डमा एक–एक जनाको मृत्यु भएको बोर्डको तथ्यांक छ ।
उक्त अवधिमा विदेशमा मृत्यु भएकाको परिवारलाई ४६ करोड रुपैयाँ रकम आर्थिक सहायता दिइएको बोर्डले जनाएको छ ।
श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकको करार अवधिमा मृत्यु भएको अवस्थामा बोर्डमार्फत् परिवारले ७ लाख रुपैयाँ आर्थिक सहायता पाउने गर्छन् ।