थर्कमान पार्ने ‘सेभेन सेन्स’ !

यो संसारले दुई–दुईवटा बडेबडे विश्वयुद्ध देखिसकेको छ । त्यसपछि गृहयुद्ध, खण्डयुद्ध, सन्त्रास, आतङ्कवादी आक्रमण, आत्मघाती आक्रमण अद्यापि देखिरहेको छ ।

यी युद्धहरूले जीवन र सम्पत्ति कति खति भएको छ त्यसको हिसाब किताब कसले राख्ने ? यी सबै काण्डहरू सृष्टिकर्ताहरूकै इशारामा भएको हो । सृष्टिकर्ताले तिनको भँडार निमिट्यान्न पारेकै हुन् । कारण सृष्टि गर्नु र त्यसको विनाश गर्नु तिनको एकमात्र काम हो ।

भगवानलाई यो संसारको विराट कम्पनी ठानेको छु । यो कम्पनीमा विभिन्न प्रकारका कारखानाहरू छन् । जहाँ के के निर्माण हुन्छन् हुन्छन् । बाघ विभागमा बाघ, बाख्रा विभागमा बाख्रा । सबैभन्दा सर्वोच्च विभागमा मानिस निर्माण गरिन्छ ।

भगवानका बडेबडे, जण्डा–जण्डा तक्निविद्हरूको असाधारण बुद्धिद्वारा साँचो (फर्मा) तयार पारी मेसिनहरू फिट गरेर मानिस भन्ने वस्तु निर्माण गरिन्छन् । टाउकामा ‘सर्किट’ र ‘डायग्राम’ स्वयम् भगवानले तयार पारी फिट गरिदिन्छन् । कसैलाई थाहा छैन… भगवानको यो कुन ‘प्लान’ वा ‘ट्याक्टिक्स’ हो । बनेटभित्र के छ रु कसैलाई थाहा छैन… खोलेर हेरÞ्यो कि सर्वनाश ।

साँच्चै भगवानको ‘ट्याक्टिक्स’ वा ‘प्लान’ तुलनाहीन छ । आफ्नो ‘कपी’ आफैँ तयार पार्छन् । लाग्छ प्रत्येक नै एकेकवटा जेरक्स मेसिन । स्वास्नी मानिसको भुँडीमा मानिस तयार पार्ने मेसिन । साइज अनुसारको । छुचन्द्रोको भुँजडीभित्र छुचन्द्रो तयार पार्ने मेसिन । साइज अनुसारको ‘माल’ ठीक समय निस्कन्छ । त्यसपछि बढ्न थाल्छ । हात्ती हात्तीजस्तो, बाख्रा बाख्राजस्तो ।

मानिस निर्माण गर्दाको समयमा भगवानजस्ता महान लब्ध प्रतिष्ठित जण्ड इञ्जिनियरलाई कम्ती साह्रो परेन होला । माथापच्ची गर्नु पर्यो होला । पाँच फुटदेखि लिएर साढे सात र आठ फुटसम्मको उचाइ भित्रमा मानिस निर्माण गर्नुपर्ने । जीउका दुईतिर हात तुर्लुङ्ङै झुण्ड्याउनु पर्ने, एक जोडी खुट्टा ।

खाएर पचाउनलाई दुई खुट्टामाथि झोलाजस्तो भुँडी । लोग्ने मान्छेको भुँडी निर्माण गर्न त भगवानलाई कुनै टाउको दुखाइ भएन, गाह्रो परेन, धेर सोच्नु परेन होला । तर स्वास्नी मान्छेको भुँडी निर्माण गर्न भने कम्ती टाउको दुखाइ भएन होला । भगवानको दाँतबाट तरतरी पसिना नचुहेको होइन । खाएर पचाउने च्याम्बर अलग्गै, मान्छे भन्ने अर्को जेरक्स राख्ने च्याम्बर अलग्गै । नारायण… नारायण…।

त्यतिमात्र होइन । मान्छे निर्माण गरेर मात्र पनि भएन । बरर बोल्ने हुनुपर्यो । ठइँ..ठइँ हिँड्ने हुनुपर्यो । आफ्नो मनको भावना आदानप्रदान गर्नसक्ने हुनुपर्यो । त्यो पनि भयो । मान्छेको पछिल्तिर अरु पशुहरूको जस्तै पुच्छर पनि वेल्डिङ गरेर जोडिदिए भगवानले । आफ्नो पछिल्तिर पुच्छर वेल्डिङ गरी जोडिएको देखेर लोग्नेमान्छे भन्ने जनावर खुसीले उफ्रीपाफ्री गर्न थाल्यो । तर स्वास्नी मान्छेहरूले चाहि आफ्नो पछिल्तिर हात्तीको वा बाँदरको जस्तो पुच्छर जोडिदिएकामा साडी, प्याण्ट, वा सलवार कुर्ता, स्ल्याक्स, लेगिङ्गस् आदिको पछिल्तिर पुच्छरको निम्ति छेँड पार्नु पर्ने कुरा सोचेर भक्कुमारी विरोध गरे, आपत्ति जनाए ।

वाशरुमभित्र पस्दा पनि पुच्छर झोलिएर पुच्छर सम्हाल्नु कि अरु पनि के के सम्हाल्नु भनी भगवानसमक्ष आफ्ना असुविधाबारे वृत्तान्त नालीबेली लाए ।

आफूले नै निर्माण गरेका स्वास्नी मान्छेहरूसित भगवानले निकै तर्क गर्नुपर्यो । आफूले पहिरिएको सलवार कुर्ता, प्याण्ट वा साडी, स्ल्याक्स, लेगिङ्ग्स् आदि पुच्छरको निम्ति छेँड नपारी लुगाभित्रै गुटमुटाएर घुसारेर राख्ने सल्लाह दिए भगवानले स्वास्नी मान्छेहरूलाई ।

पहिरिएको लुगाभित्र पुच्छर गुजुल्टो पारेर घुसार्दा हिँडनु बस्नु बाहेक पनि इत्यादि कुरामा निकै अप्ठ्यारो पर्नाका साथै पछिल्तिर गजधम्म बसेको फर्सी वा तानपुराजस्तो नितम्बको शोभा, सौन्दर्य र गरिमा नै खजमजिने तर्क राखेपछि यी स्वास्नीको पछिल्तिरबाट भगवानले पुच्छर प्वाक्कै निकालिदिए । तमाम् स्वास्नीमान्छेहरू भक्कुमारी खुसी भए ।

कुनै सरकारी अस्पतालका सिष्टर्सले ता आफ्नो बान्किलो नितम्बको डिलमा पुच्छर टाँसिदिएको विरोधमा झण्डै ब्लड ब्याङ्कमा थुपारी राखेको ब्लड खाने धम्कीसमेत दिएको कुरा विश्वस्त सूत्रबाट थाहा भएको छ । एकजना सिनियर सिष्टरले त भनिन् पनि– भगवान सर, (डाक्टर श्रेष्ठ, डाक्टर चक्रपाणि भनेजस्तो) तपाईंले हामीलाई सिष्टर्सको निम्ति निर्माण गर्नुभो । हामी आभारी छौं । नर्सिङ स्टाफको स्कर्टको पछिल्तिर पुच्छर ता सुठीसाह्रै घिनलाग्दो भएन र ? पछिल्तिरको पुच्छरले ड्यूटीमा हामीलाई कस्तो अप्ठ्यारो हुन्छ… हजुरले त्यो सोच्नुभएको छ ?

भगवान इञ्जिनियर गम्भीर मुद्रामा बोले– अरे ! तपाईं सिष्टर्सलाई त यो पुच्छरले कुनै असुविधा नहुनुपर्ने । स्कर्टको पछिल्तिर पुच्छरकै साइजको छेँड पारेर बाहिर निकाल्नोस् अनि राम्ररी सेम्पो लाएर धोइपखाली कोरीबाटी गरेर आफ्नो स्कर्टको अघिल्तिरको पाकिटमा ख्वाप्पै हाल्नोस् ।

सिष्टर बोलिन्– अप्पुइ… कहाँ हुन्छ हौ ? स्कर्टको गोजीमा मोबाइल राख्नुपर्छ… फेरि पुच्छर पनि त्यहीँ खाद्नु ? मोबाइल र पुच्छरले गोजी कस्तो पुक्क देखिन्छ । घिनलाग्दो न घिनलाग्दो । इट इज इम्पोसिबल ।

छक्क पर्दै भगवान बोले– अरे, ड्यूटी आवरमा पनि तपाईहरू आफ्नो सेल बोक्नुहुन्छ ? ह्वाट अ सरप्राइज ।

थोरै बोल्ने, लजिली स्वभावकी सिष्टर सुरिलो अनि मिठाइलो स्वरमा बोलिन्– अरु को त कोनि, तर भगवान सर, मेरो त म्यासेज र मिस्ड कल आइबस्छ । कल रिसिभ गरेन र म्यासेजको रेसपोन्स नगरे मेरा फेसबुके साथीले मेरो सातोपुत्ला खानु मात्र होइन कस्तो डरलाग्दो बिच्किन्छन् । कस्ता छुच्चा पो छन् त मेरा फेसबुके साथी । नाइँ म त पुच्छर लाउँदिनँ है । फेरि हामी सिष्टर्सलाई यो पुच्छरको के काम ? दिनभरि वार्डमा म्याराथानभन्दा चर्को कुदिरहनुपर्छ । कतै अल्झियो भने… त्यतिमात्र होइन भगवान सर हजुर, ओटीमा डाक्टरले अपरेशन गर्दै गरेका बेला झुक्किएर हतारमा इन्स्टुरमेन्ट ठानी पुच्छर नै तानिदिए भने नि ?

ठूलो स्वर भएकी सिष्टर बोलिन्– भगवान सर, वार्डमा भुइँभरि प्यासेन्टहरू लडिरहेका हुन्छन् । उनीहरूलाई इन्जेक्सन लाउँदा घुँडा टेकेर कि चाहिँ बसेरै इन्जेक्सन पुस गरिदिनुपर्छ । कुनै कुनै प्यासेन्ट इन्जेक्सन देख्दै डराएर हाम्रो जीउ समात्ने प्रयास गर्छन् । इन्जेक्सनले च्वास्स घोचेको बेला मोराहरूले हाम्रो पुच्छर नै तानिदिए भने ? भरै पुच्छर चुँडेर पुच्छर कहाँ, सिष्टर कहाँ, इन्जेक्सन कहाँ अनि ट्रे कहाँ भयो भने नि ?

उपस्थित सबै सिष्टर्सले हो मा हो मिलाए ।

प्रसङ्ग बङ्ग्याउने ताकमा भगवान मुस्कुराउँदै बोले– तपाईंहरूको डाक्टर्सले टाई लाएर आउँछन् होइन ?

सबै सिष्टर्स एकै श्वासमा बोले– यस सर भगवान । टाई त हाम्रा डाक्टर्सको शान हो । टाई सुटमा हाम्रा डाक्टर्सलाई कस्तो स्मार्ट र टाइडी देखिन्छन् । टाई नलगाएको दिन ता हाम्रा सरहरूलाई पुच्छर नभाको बाँदरजस्तो ठुटे देखिन्छ भगवान सर ।

सृष्टिकर्ता भगवानको गम्भीर भाषण– यस… यस । खास कुरा के हो भने, डाक्टर्स र सिस्टर्सलाई स्मार्ट र टाइडी देखियोस् भनेर त डाक्टर्सको नेक टाईसित म्याचिङ मिलाउन सिस्टर्सको पछिल्तिर झुण्ड्याउने योजना बनाएको हुँ । डाक्टर्सको नेका टाई अनि सिस्टर्सको ब्याकमा ब्याक टाई । एकदम अर्ग्यानिक ब्याक टाई । टाँस्ने मेरो क्षुद्र प्रयास मात्र ।

अर्की सिष्टर प्याच्चै बोलिन्– भगवान सर, डाक्टर्सले टाई फेरी फेरी लाएजसम्तो हामी सिस्टर्सले पुच्छर फेरी फेरी लाउनÞ ता कहाँ सक्छौं ? भन्नु त ?

ती सिष्टरको काँध थप्थपाउँदै एकजना डाक्टरले आफ्नो विचार राखे– अरे सिष्टर, तपाईंहरू किन सुर्ताउनुहुन्छ ? तपाईंहरूले आफ्नो कपाल रङ्गाएजस्तै पुच्छर पनि हप्तैपछि रङ्गाउनुहोस् । एक हप्ता कालो, अर्को हप्ता रातो, कुनै हप्ता कैलो, फुस्रो जस्तो ड्रेस त्यस्तै कलर । हामी डाक्टर्सका रङ्गीबिरङ्गी टाईहरू तपाईंहरूका कलर कलरका पुच्छर देखेर लाजले झुकेम भने मलाई भन्नोला ।

डाक्टर्सको कुरा सुनेर तमाम् सिष्टर्स रुपीजस्तै कराए । उनीहरू पुच्छर झुण्ड्याउने पक्षमा ठ्याम्मै छैनन् भनी मुस्कुराउँदै भगवानलाई दङ्गाउनुसम्म दङ्ग्याए । सिष्टर्सको टेसिला मुस्कान र मिठाइला दङ्ग्याइँले भगवानलाई नून पानी (सलाइन वाटर) को काम गरÞ्यो क्यारे उनी मक्ख र पक्क परेर सिष्टर्सको पछिल्तिर पुच्छर नटाँस्ने अड़ान लिए । तर सिष्टर्सलाई मात्रै काखी च्याप्दा अन्य स्वास्नीमान्छेहरू पनि भगवानसित बिच्किने डरले उनले तमाम् स्वास्नीमान्छेहरूलाई पनि पुच्छर टाँस्ने कुरामा माफ दिए । र नै अचेल स्वास्नीमान्छेहरू पुच्छरको झ्याउलादेखि बाँचेका हुन् ।

हुन पनि हो नि, त्यो काम न दामको मासुको लोली किन झुण्ड्याइरहनु ? पुच्छर पनि फोल्डिङवाल भए पो । कम्तीको पनि कसैले निहुँ खोज्दा स्वाट्टै खोलेर पुच्छरै पुच्छरले स्वाम् कि स्वाम् सोड़्क्याउनु ? नाथे एउटा एक हाते पुच्छर खोल्नुलाई आफ्नो ड्यूटी सकेर सिष्टर्स हतारहतार ‘चेन्जिङ रुम’ मा पसेजस्तो हतार समयमा ‘चेञ्जिङ रुम’ कहाँ खोजिरहनु ? फेरि ड्रेस खोलाखोल् पार्ने झ्याउला को गरिबस्ने ?

साँच्चै, यी सिष्टर्सले विरोध नगरेका भए वा भगवानसामु नदङ्ग्यादिएका हुँदा हुन् ता आजको दिनसम्म स्वास्नीमान्छेहरूको पछिल्तिर पुच्छर झुण्डिरहने थियो होला । कतिवटा कुरामा असुविधा भए पनि कतै बस्दा भने यो पुच्छरले थाङ्नाको काम भने अवश्यै गर्नेथ्यो ।

होटल रेष्टुरेन्टका कुर्सीहरू पुच्छरले पुछेर ढुक्कैले बस्न सकिन्थ्यो । आफ्ना पछिल्तिरको पुच्छरलाई कति स्याहार्थे होलान् यी पुच्छरवाल्नी स्वास्नीमान्छेहरूले । पुच्छरको सुन्दरताको निम्ति ठाउँठाउँमा पुच्छर पार्लर खोलिन्थे होलान् । सुरिला सुरिला रङ्का लिपिस्टिक… पुच्छर पनि उस्तै रङको… म्याचिङ हुने । कालो सलवार कुर्ता काले पुच्छर..रातो सल्वार रातै पुच्छर । निलो जिन्स निलै रङको पुच्छर । आहा क्या म्याचिङ ।

कतिले पुच्छरको कभर पनि बनाउँथे होलान् । किनभने सुन्दरता स्वास्नीमान्छेको गहना हो । आफ्नो पछिल्तिर टाँसिएको वा झुण्डिएको पुच्छरको सुन्दरताको निम्ति पुच्छरवाल्नी यी स्वास्नीमान्छेहरूले के के नै गर्थे होलान् । नहुनु पर्थ्यो… तर भगवानले टाँसिदिएपछि गर्ने के ? स्याहार्नै पर्थ्यो। ।

अचेल ‘ब्यूटी पार्लर’ तिर स्वास्नीमान्छेहरूको धुइरो देखिन्छ । त्यहाँ आफ्नो केशराशि बान्कीले र सुन्दर पार्न किसिम किसिमका हेयर स्टाइलमा केश काटिन्छन् । जस्तो– ‘ब्वाइज कट’, ‘मशरुम कट’, ‘लेयर कट’, ‘स्टेप कट’, ‘यू कटु’, स्ट्रेट कट’, ‘चाइनिज कट’, ‘फेदर कट’, ‘सेगी कट’, ‘लेजर कट’, ‘थाइल्याण्ड कट’, ‘भी कट’ आदि आदि ।

आफ्नो पछिल्तिर टाँसिएको वा झुण्डिएको पुच्छरलाई पनि आफ्नो केशराशि सुन्दर र बान्किलो पारे झैँ ‘लोथर्के कट’, ‘खरायो कट’, ‘घोडा कट’ स्टाइलको बनाइ माग्लान् । तर मलाई के लाग्छ भने कुनै पनि स्वास्नीमान्छे आफ्नो पुच्छरलाई ‘सुङ्गुर कट’, ‘कुकुर कट’, ‘हात्ती कट’ बनाउन चाहिँ नमान्लान् । यी सुँङ्गुर, कुकुर र हात्ती कट चाहिँ साह्रै असुहाउँदिला देखिन्छन् ।

पुच्छर जस्तोसुकै किन नहोस् । स्वास्नीमान्छेहरूका पुच्छर साँच्ची नै हुँदो हो त यो सुठीनै सेन्सेटिभ हुनेथ्यो । नाकको टुप्पोमै रिस होइन, केही भन्दियो कि पुच्छरको टुप्पोमै रिस हुनेथ्यो । श्रीमतीलाई सामान्य बिच्कायो वा रिस उठायो कि उनको पुच्छर अचानक ठाडो भएर रडाको मच्याउन थाल्नेथ्यो । घरमा ‘च्यापु लक’ हुने सम्भावना प्रशस्तै देखिन्थ्यो । छोयो कि ट्याँ…‘मेटल डिटेक्टर’ जस्तो । स्वास्नीमान्छेहरूका पुच्छर ठाडो भयो कि नारायण…सेलाउन निकै समय लाग्थ्यो होला ।

कुकुरको ‘सिक्स सेन्स’ हुन्छ । यो कुरा सबैले जानेकै कुरो हो । भुक्तभोगी पतिहरू स्वास्नीमान्छेको पनि सिक्स सेन्सै हुन्छ भन्छन् । अब पुच्छर थपिए पछि अझ एउटा सेन्स थपिएर यी स्वास्नीमान्छेहरू ‘सेभेन सेन्स’ का धनी हुनेछन् । यसमा शङ्का गर्ने ठाँवै छैन । यी सेभन सेन्सका धनी स्वास्नीमान्छेहरूको धम्की, चुरीफुरी, घुर्की आतङ्कवादी कम्ती हुने छैन भन्ने मेरो सोह्रै आना अनुमान छ ।

त्यतिमात्रै कहाँ र ? घरभित्र अहर्निश रेड अलर्ट जारी भइराखेको हुनेछ । तमाम् पतिहरू घिच्रामा खुकुरीको धार राखेर हिँड्नुपर्नेछ । यसकारण म त भन्छु, यी स्वास्नीमान्छेहरूको पुच्छर नभएकै वेश । पुच्छर भएकीसित सिङ जुझाउनु नै जानी जानी बारुलाको गोलामा हात हालेकै बराबर हो ।

आफ्नो पछिल्तिर पुच्छर टँसाइको घोर विरोध गर्ने तमाम सिष्टर्सलाई सलाम । कम्तीको पनि थर्कमान पार्ने ‘सेभेन सेन्स’ स्वास्नीमान्छेसित त जोगिन पाइयो ।

–सिलगडी (भारत)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *