पूर्वगृहमन्त्री थापाका छोरा र कांग्रेस नेताविरुद्ध पक्राउ पुर्जी

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका तत्कालीन गृहमन्त्री तथा एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीक थापा र कांग्रेस नेता एवं पूर्व सांसद आङटावा शेर्पाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ ।
थापा गृहमन्त्री हुँदा उनका सल्लाहकार रहेका इन्द्रजित राई पक्राउ परेपछि प्रतीक थापाबारे पनि प्रहरीले अनुसन्धान गरेको थियो । प्रतीक पनि यसमा संलग्न रहेका प्रमाणहरु भेटेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
यसैगरी नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता एवं पूर्वसांसद शेर्पाविरुद्ध जिल्ला अदालत काठमाडौंले शेर्पाविरुद्ध आज पक्राउ पुर्जी जारी गरेको छ ।
२०७० को संविधानसभा सदस्य निर्वाचनमा रामेछाप १ बाट निर्वाचित शेर्पा हाल कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन् । सो प्रकरणमा थुनामा रहेका केशव दुलाल र सानु भण्डारीसँग आङटावाले हिरासतमा पुगेर भेट गरेका थिए । दुलाल र भण्डारी २०७९ चैत १२ देखि हिरासतमा छन् ।
नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणलगायत १२ जना प्रकाउ परिसकेका छन् ।
पक्राउ पुर्जी जारी भएका एमाले सचिव समेत रहेका तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र इन्द्रजित राईका छोरा निरज राई फरार छन् ।