हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्त गर्न संवैधानिक परिषद्ले राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा सोमबार बसेको परिषद्को बैठकले कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको हो ।
प्रधानन्यायाधीशमा नियुक्तिअघि सार्वजनिक सुनुवाइ हुनुपर्ने संवैधानिक व्यवस्था छ । तर संसदमा सुनुवाइ समिति बनिसकेको छैन ।
कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने सर्वसम्मत निर्णय भएको परिषदका पदेन समस्य रहेका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।
परिषद्मा प्रधानमन्त्री दाहाल, प्रमुख प्रतिपक्ष दलका नेता एवं एमाले अध्यक्ष केपी ओली, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ र प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना छन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा २०७८ फागुन १ मा संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएपछि दीपककुमार कार्की कायम मुकायम प्रधानन्यायाधीश बनेका थिए । उमेर हदका कारण असोज १५ गते उनले अवकाश पाएका थिए ।
त्यसयता कार्कीले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा कार्यसम्पादन गर्दै आएका थिए । जबरा पनि २७ मंसिर २०७९ बाट ६५ वर्षे उमेर हदका कारण निलम्बनकै अवस्थाबाट अनिवार्य अवकाशमा गएका थिए ।
कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीशको नियुक्ति चाँडो गर्न चरणबद्ध आन्दोलन गर्दै आएको थियो ।