प्रदेश पुनः नामकरण माग गर्दै फेरि आन्दोलन घोषणा

विराटनगर । कोशी नाम खारेज गर्दै प्रदेशको पुनः नामाकरणको मागसहित आन्दोलनको कार्यक्रमहरू घोषणा गरिएको छ । ‘प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति’ ले आन्दोलनको नयाँ कार्यक्रम घोषणा गरेको हो ।

आन्दोलनको कार्यक्रमहरूमा कोशी नाममा हस्ताक्षर गर्ने सांसदहरू र दलका शीर्ष नेताहरूका विरुद्धमा विरोध जारी रहेको भूमिमा उनीहरूलाई बहिष्कार गर्ने उल्लेख गरिएको छ ।

वैशाख २६ गते झापाको दमकमा सांकेतिक राँके जुलुस प्रदर्शन गरिने भएको छ । त्यसै गरी वैशाख २८ गतेदेखि प्रदेश सभाका ८२ जना सांसद र उनीहरूका शीर्ष नेता हिँड्ने बाटो, बस्ने होटेल, खाने स्थानदेखि उनीहरू सहभागी हुने कार्यक्रम तथा बैठक स्थलहरूमा विरोधको कार्यक्रम गरिने किराँत राई यायोक्खाका अध्यक्ष जीवन राईले बताए ।

नेताहरूलाई होटेलमा बस्न र कार्यक्रम गर्न हल नदिनका लागि सम्बन्धित पक्षहरूलाई अनुरोध गर्ने समेत उनले जानकारी दिए । वैशाख २८ गतेदेखि जिल्लाहरूमा आमसभा, सङ्घर्ष समिति बिस्तार, तालाबन्दी, कोशी नाम हटाउने, जलाउने, मेट्ने, कालो झन्डा रोप्ने र ८२ जना सांसदलाई बहिष्कार कार्यक्रम जारी राख्ने जनाइएको छ ।

आन्दोलनका अन्य कार्यक्रमहरूमा जेठ २ गतेदेखि ५ गतेसम्म कोशी प्रदेशका १४ वटै जिल्लाका मुख्य स्थानमा जनजागरण अभियानलाई तीव्रता दिने, जेठ दोस्रो हप्ता सङ्घर्ष समितिका केन्द्र, जिल्ला र स्थानीय निकायका सबै नेतृत्व पङ्क्तिको वृहत् भेला आयोजना गर्ने, आन्दोलनलाई व्यवस्थित गर्न ‘पहिचानका लागि युवा’ शक्ति निर्माण गर्ने र प्रदेश सभा केन्द्रित विशाल जनप्रदर्शनको तयारी गर्ने अध्यक्ष राईले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *