भ्रष्टाचारका ठूला फाइलहरु अब खुल्नेछन्ः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारसम्बन्धी ठूला फाइलहरु अब खुल्दै जाने बताएका छन् ।
काठमाडौमा नेपाल दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै शनिबार उनले यस्तो बताएका हुन् ।
कुनै पनि हालतमा भ्रष्टाचारीलाई छुट दिन नसकिने प्रधानमन्त्रीले बताए ।
नेपालीलाई भुटानी शरणार्थी बनाइ बेच्ने कुरा ट्रेलर मात्रै रहेको उल्लेख गर्दै पूरा फिल्म देख्न बाँकी रहेको उनको भनाइ थियो ।
‘मैले घोषणा गरेको थिएँ, अब भ्रष्टाचारीहरुको फाइल खोलिन्छ, कुनै पनि हालतमा भ्रष्टाचारीलाई छुट दिन सकिँदैन । अहिले त्यो प्रक्रिया सुरु भएको छ । यो ट्रेलर मात्रै हो, हेर्दै जानुस्, सिङ्गै फिल्म देखिन्छ’ प्रधानमन्त्री दाहालले भने, ‘त्यसपछि पक्कै पनि ठूला घेराबन्दी होलान्, ठूला दबाबहरु आउलान्, धम्कीहरु होलान्, धेरै चिजहरु हुनसक्छ, यो बीचमा तर हाम्रो उत्पीडित वर्ग समुदाय हाम्रो श्रमजीवी जनसमुदाय साथमा भयो भने जतिसुकै ठूला घेराबन्दी दबाब र धम्कीको सामना गरिनेछ ।’