किराँत समुदायमा उभौली पर्वको रमझम

काठमाडौं । प्रकृतिका पुजारी किराँत समुदायले उभौली पर्व धुमधामसहित मनाउँदै छन् । वैशाख पूर्णिमाका दिनमा पर्ने यो पर्वका अवसरमा किरातँ बहुल क्षेत्रहरुमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।
अन्न बाली सप्रियोस्, खेतबारीमा राम्रो बालीनाली लागोस् अनि पृथ्वीमा कतै खाद्यान्नको कमी नहोस् भन्ने कामना गर्दै उभौली पर्व मनाउने गरिन्छ ।
किराँत समुदायले मुख्यतः उभौली र उधौली पर्व धुमधामसाथ मनाउँछन् ।
वैशाख पूर्णिमामा उभौली र मङ्सिर पूर्णिमामा उधौली मनाइन्छ । उभौलीलाई बालीनाली लगाउने र उधौलीलाई थन्क्याउने अवसरका रूपमा मानिन्छ ।
वैशाख शुक्ल पूर्णिमादेखि सुरु भएको यो पर्व लगातार एक महिनासम्म मनाइन्छ ।
यस दिन चण्डी नाचिन्छ । त्यसैले यो पर्वलाई चण्डी पूर्णिमा पनि भन्ने गरिएको छ ।
आजको दिनमा सुम्निमा अर्थात् देवी पार्वतीको सृष्टि भएको दिनको रुपमा किराँतहरुले सम्झने गरेका छन् ।
किराँतहरुको बाक्लो बसोबास भएका कोशी प्रदेशका जिल्लाहरुका साथै काठमाडौं र देशका अरु भागमा रहेका किराँत समुदाय यो पर्व मनाइरहेका छन् ।
विदेशमा रहेका किराँत समुदायका नेपालीहरुले पनि चण्डी पूर्णिमा मनाउने गरेका छन् ।