सरू संगीत घरको वार्षिकोत्सवमा सांगीतिक प्रस्तुति

काठमाडौं । सरु संगीत घरको दोस्रो वार्षिकोत्सव अवसरमा संगीत तथा नृत्य प्रदर्शन गरिएको छ । कार्यक्रमका अवसरमा अग्रज गायिका लोचन भट्टराईले पनि आफ्ना गीत प्रस्तुत गरेकी थिइन् ।
महालक्ष्मी ५ टिकाथलीमा अवस्थित सरू संगीत घरको वार्षिकोत्सव अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा लोचन भट्टराईको सहभागिता थियो ।
यसैगरी महालक्ष्मी ५ का वडाध्यक्ष कपिल केसी विशेष अतिथिका रुपमा सहभागी थिए ।
संगीत घरका सञ्चालक संगीतकार डेनी निरौराको सभापतित्वमा भएको कार्यक्रममा शिक्षासेवी विष्णुकुमार निरौला, पत्रकार वाशुदेव पौडेल, समाजसेवी सूर्य बस्नेत, नेपाल सरकारको गृहमन्त्रालयका उपसचिव डारेन्द्र निरौला अतिथिका रुपमा सहभागी थिए ।
त्यसअवसरमा बोल्दै वडाध्यक्ष केसीले गीत संगीत हरेक कुराहरु जनमानसमा सुसूचित गराउने ठूलो माध्यम भएको बताए । आफू जनप्रतिनिधिको हैसियतले गीत संगीतको क्षेत्रलार्य सहयोग गर्ने प्रतिबद्धता उनले जनाए ।
प्रमुख अतिथि भट्टराईले सरु संगीत घरको नाम संगीतकार डेनी निरौलाकी दिवंगत आमाको नामबाट स्थापना भएको थाहा पाउँदा आफू निकै खुसी भएको बताइन् ।
यस्तो कार्यले सधैँ आमाको नाम लिन पाइने उनले उल्लेख गरिन् । आफू पनि अझै संगीतको विद्यार्थी भएको र सिक्ने कुरालाई उमेरले नछेक्ने भन्दै संगीतघरका विद्यार्थीलाई उनले हौसला प्रदान गरेकी थिइन् ।
त्यस अवसरमा भट्टराईले आफ्ना चर्चित गीतहरू ‘उ त गयो माया मारेर’ र ‘टाढा टाढा नभई जाउ तिमी’ प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रममा केही नृत्यहरु र गीतसहित गरी दुई दर्जनभन्दा बढी प्रस्तुति दिइएको थियो ।