अन्तर्राष्ट्रिय श्रमिक दिवसः ज्यालामा अझै भेदभाव

काठमाडौं । आज मे १ तारिख । यस दिनलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसका रुपमा मनाउने गरिएको छ ।

‘सामाजिक सुरक्षा, मर्यादित श्रमः श्रमको सम्मान राष्ट्रको अभियान’ भन्ने नाराका साथ दिवस मनाइँदैछ ।

सन् १८८६ मा अमेरिकाको शिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाउन थालिएको हो ।

विश्वका मजदुरले दिवसलाई पर्वका रुपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन् ।

नेपालमा विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाइन थालिएको हो ।

विसं २०४६ सालको राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालिएको थियो । सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

मजदुरहरुले काम गरेअनुसार पारिश्रमिक नपाउने गरेको गुनासो गर्दै आएका छन् । अझ पुरुष र महिला श्रमिकबीच पनि ज्यालामा भेदभाव हुने गरेको गुनासो लामो समयदेखि सुनिंदै आएको छ ।

यस अवसरमा सन्देश जारी गर्दै नेपाल ट्रेड युनियन महासंघ जिफन्टले मजदुरले न्यूनतम पारिश्रमिक पाउने अवस्थामा सुधार भएको भए पनि त्यो पर्याप्त नभएको जनाएको छ ।

श्रम कानुन कार्यान्वयनको विद्यमान अवस्थासम्बन्धी श्रम अडिट प्रतिवेदन २०७९ सार्वजनिक गर्दै जिफन्टले अझै १५ दशमलव ३० प्रतिशत मजदुरले न्यूनतम पारिश्रमिक नपाएका जनाएको छ ।

यस्तै, वार्षिक पारिश्रमिक वृद्धि (ग्रेड वृद्धि) गर्ने प्रतिष्ठान बढ्नुको साटो घट्दै गएको प्रतिवेदनले देखाएको छ ।

यसैबीच, अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो हकहित, अधिकार तथा स्वतन्त्रताको रक्षार्थ विश्वभरिका सम्पूर्ण श्रमजीवीहरूलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास लिएको बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आउँदो आर्थिक वर्षदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई अनिवार्य र कडाइका साथ लागू गर्न पहल गर्ने बताएका छन् ।

श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले सामाजिक सुरक्षा कार्यक्रमलाई सम्पूर्ण औद्योगिक प्रतिष्ठान, उद्योग र कार्यालयमा अनिवार्य र कडाइका साथ लागू गर्न पहल गर्ने बताएका हुन् ।

यसैगरी नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउबाले सन्देश जारी गर्दै नेपाली कांग्रेस सधैँ मजदुरको हक र हितका पक्षमा रहेको उल्लेख गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *