एसीसी प्रिमियर कपः फाइनलमा भिड्दै नेपाल र यूएई

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत आज सोमबार फाइनल खेल हुँदैछ । टियु क्रिकेट मैदानमा हुने खेलमा नेपाल र युएई भिड्दै छन् ।

सेमिफाइनलमा कुवेतसँगको खेल रद्द भएपछि नेपाल समूह विजेता बन्दै फाइनलमा पुगेको हो ।

नेपालले समूह चरणमा तीन जित र वर्षाले प्रभावित एक खेलमा अंक बानेर समूह विजेता हुँदै सेमिफाइनल पुगेको थियो ।

युएई सेमिफाइनलमा ओमानलाई ‘डकवर्थ लुइस’ नियमअनुसार २ रनले पराजित गर्दै फाइनलआमा पुगेको हो । यसअघि युएई समूह ‘बी’ मा उपविजेता हुँदै सेमिफाइनलमा पुगेको थियो ।

दुवै एकदिवसीय मान्यता प्राप्त देश भएकाले फाइनल खेल एकदिवसीय अन्तर्राष्ट्रिय खेल हुने छ ।

नेपाल र युएईबीच अहिलेसम्म १३ वटा एकदिवसीय खेल भएका छन् । जसमा नेपालले ७ खेल जितेको छ भने युएईले ६ खेल जितेको छ ।

पछिल्ला केही दिनदेखि काठमाडौँमा लगातार वर्षा भइरहेकोले फाइनल खेल पनि प्रभावित हुने सम्भावना छ ।

यसअघि शनिबार सेमिफाइनल खेल पनि वर्षाले प्रभावित भएका थिए भने आइतबार भएको तेस्रो स्थानको खेल पनि वर्षाले प्रभावित भएको थियो ।

आजको खेल पनि वर्षाले प्रभावित भएको अवस्थामा एक दिन ‘रिजर्भ डे’ राखिएको छ । आज खेल हुन नसके मंगलबार हुनेछ ।

मंगलबार पनि वर्षाले खेल हुन नसकेमा सुपर ओभर खेलाउने प्रयास गरिनेछ । तर सुपर ओभरको सम्भावना समेत नभएमा आइसीसीको एकदिवसीय वरियतामा अगाडी रहेको टिम एशिया खेल खेल्न छनौट हुनेछ ।

आइसिसीको एकदिवसीय वरीयतामा नेपाल १४औं र युएई १९औं स्थानमा छन् । वर्षाले खेल हुन नसक्ने अवस्था आएर खेल रद्द भएमा नेपाल एकदिवसीय वरीयतामा युएईभन्दा अगाडि रहेका आधारमा एसिया कपमा छनौट हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *