‘सुनको सिक्री लुट्ने उद्देश्यले’ महिलाको हत्या

काठमाडौं । काठमाडौंको कपनमा किराना पसल गरी बस्ने नीरा (निरू) पाण्डे आचार्यको हत्या भएको १० दिनपछि प्रहरीले एकजना अभियुक्तलाई झापामा पक्राउ गरेको छ ।

वैशाख ७ गते कपनको सरस्वतीनगरमा अपराह्न ४ बजे पसलभित्रै छिरेर अज्ञात व्यक्तिले आचार्यमाथि धारिलो हतियार प्रहार गरी घाइते बनाएको थियो ।

उनलाई उपचारका लागि शिक्षण अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको थियो ।

खोजीका क्रममा प्रहरीले अभियुक्तलाई झापाको बिर्तामोडमा शनिबार पक्राउ गरेको हो । पक्राउ पर्ने व्यक्ति झापा घर भई भक्तपुरको लोकन्थलीमा बस्ने ‘बाउन्सर’ विनोद बिक हुन् । भाइब्रेन्ट क्लबमा उनी ‘बाउन्सर’ का रुपमा काम गर्थे ।

निरुले लगाएको ९८ लाल तौलको सुनको सिक्री लुट्नका लागि उनीमाथि आक्रमण भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार विनोदले निराको हत्या आफूले गरेको स्वीकारेका छन् ।

प्रहरीले सीसीटीभी फुटेजका केही दृश्य प्रमाणका रुपमा सार्वजनिक गरेको छ । फुटेजमा अभियुक्तले प्रयोग गरेको झोला, जुत्ता र रगत लागेको कपडा पनि देखिन्छ ।

प्रहरीका अनुसार घटनाका दिन बिक सामान किन्ने निहुँमा निरुको पसलमा प्रवेश गरेका थिए । पसलमा अरु ग्राहक पनि भएकाले उनी बैंकबाट पैसा निकालेर आउँछु भन्दै बाहिरिएका थिए ।

दिउँसो फेरि आएर समान किन्ने निहुँमा पसलभित्र छिरेर निरुमाथि हतियार प्रहार गरेको प्रहरीले जनाएको छ । त्यसपछि उनले लगाएको सुनको सिक्री र काउन्टरमा रहेको केही रकम चोरेर उनी निस्किएका थिए ।

वैशाख १२ गते उनी काठमाडौंको तारकेश्वरस्थित हिलेटोलको पाथीभरा सुनचाँदी पसलमा निरुबाट लुटेको सिक्री लिएर पुगेको प्रहरीले पत्ता लगाएको थियो ।

उक्त पसलमा ५५ हजार रुपैयाँमा सिक्री धरौटी राखेको पाइएको छ । उक्त रकम लिएर बिक वैशाख १३ गते झापातिर लागेका थिए ।

३५ वर्षीय विनोद झापाको मेचीनगर नगरपालिका वडा नम्बर १ निवासी रहेको प्रहरीले जनाएको छ । उनको अस्थायी बसोबास भक्तपुर नगरपालिका १, लोकन्थलीमा रहेको प्रहरीको भनाइ छ ।

प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) का एआइजी किरण बज्राचार्यको नेतृत्वमा उक्त घटनाको छानविनका लागि समिति बनाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *