एसीसी प्रिमियर कप : नेपाल र कुवेतबीच सेमिफाइनल खेल आज

काठमाडौं । एसीसी मेन्स प्रिमियर कपको सेमिफाइनल खेल आज शनिबार हुँदैछ । फाइनल पुग्ने लक्ष्यसहित आज नेपालले कुवेतसँग खेल्दैछ ।
खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुने तय भएको छ ।
नेपाल समूह ‘ए’ को विजेता र कुवेत समूह ‘बी’ को उपविजेता बन्दै प्रतियोगिताको अन्तिम चारमा पुगेको हो ।
नेपाली राष्ट्रिय क्रिकेट टिम एसिया कपमा पुग्द अब दुई खेल जित्नुपर्ने छ । आज हुने सेमिफाइनलमा कुवेतलाई हराए फाइनलमा पुग्नेछ । फाइनलमा प्रतिस्पर्धी टोलीलाई पराजित गरे नेपालको एसिया कप यात्रा सफल हुनेछ ।
हङकङलाई पराजित गर्दै कुवेत अन्तिम चारमा पुगेको हो । प्रतियोगितामा नेपाल अपराजित छ । मलेसिया, ओमान र कतारलाई पराजित गर्दै समूह ‘ए’ को विजेताका रुपमा नेपालले अन्तिम चारमा स्थान बनाएको हो ।
मूलपानी मैदानमा तय भएको साउदी अरेबियासँगको खेल भने वर्षाले रद्ध भएको थियो । दुवै टिमले अंक बाँडेका थिए ।
नेपालले मलेसियालाई ६ विकेट र ओमानलाई ८४ रनले पराजित गरेको थियो । कतारसँगको खेलमा भने नेपाल १५७ रनमै अलआउट भएको थियो । तर पनि कतारलाई ८९ रनमै अल आउट गराएको नेपाल हारबाट जोगिएको हो ।
कुवेत समूह ‘बी’ को उपविजेता हो । उसले समूहको आफ्नो पहिलो खेलमा यूएईसँग १४३ रनको फराकिलो हार बेहोरेको थियो ।
बाँकी तीन खेलमा उत्कृष्ट पुनरागमन गरेको उसले बहराइनलाई २ र सिंगापुरलाई ४ विकेट तथा हङकङलाई ३० रनले हराएको हो ।
५० ओभरको फर्म्याटमा पछिल्लोपटक सन् २०१२ मा भएको प्रतिस्पर्धामा नेपाल कुवेतसँग पराजित भएको थियो । त्रिवि मैदानमा आफ्नो उच्च लयलाई निरन्तरता दिँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल रहँदा कुवेत ओडीआई राष्ट्रमाथि सनसनीपूर्ण जित निकाल्न चाहन्छ ।
मूलपानी मैदानमा आजै हुने अर्को सेमिफाइनलमा ओडीआई मान्यता प्राप्त ओमान र यूएई भिड्नेछन् ।