नगेन्द्रप्रसाद-आशालता पुरस्कार घोषणा

विराटनगर । सनातन धर्म, संस्कृति र शिक्षा, साहित्यको क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्ति र संस्थालाई नगेन्द्रप्रसाद रिजाल र आशालता रिजालको सम्झनामा परिवारले स्थापना गरेको सम्मान तथा पुरस्कार घोषणा गरिएको छ ।

नगेन्द्रप्रसाद-आशालता रिजाल पुरस्कार प्रतिष्ठानकी अध्यक्ष इन्दिरा रिजालको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

बैठकले २०७९ सालका पुरस्कार श्री सम्प्रदाय नेपालका अध्यक्ष आयुर्वेदाचार्य एवम् वैदिक धर्म संस्कृतिविद् श्रद्धेय स्वामी देवराजाचार्य धनगढीलाई ‘नगेन्द्रप्रसाद–आशालता रिजाल धर्म संस्कृति पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ ।

यसैगरी विगत पाँच दशकदेखि नेपाली भाषा साहित्य वाङ्मयको क्षेत्रमा समीक्षा, समालोचना र विभिन्न अनुसन्धानात्मक कृति प्रकाशन गर्दै आएका प्राज्ञ दधिराज सुवेदीलाई ‘नगेन्द्रप्रसाद–आशालता रिजाल भाषा साहित्य पुरस्कार’ प्रदान गर्ने निर्णय भएको संस्थाका कोषाध्यक्ष दिङ्लाली कान्छोले बताए ।

ती प्रत्येक पुरस्कारको राशि एक लाख एक हजार एक सय एघार रुपैयाँ छ ।

वैशाख २८ गते विराटनगरमा आयोजना हुने कार्यक्रममा पुरस्कार हस्तान्तरण गरिने संस्थाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *