कतारलाई ६८ रनले हराउँदै समूह विजेता बन्यो नेपाल

काठमाडौं । एसीसी मेन्स प्रिमियर कपमा नेपाल समूह ‘ए’ को विजेता बनेको छ । आज बिहिवार भएको खेलमा कतारलाई ६८ रनले हराउँदै नेपाल समूह विजेता बनेको हो ।

नेपालले दिएको १ सय ५८ रनको मध्यम लक्ष्य पछ्याएको कतार २५ ओभर १ बलमा ८९ रन बनाउँदा अलआउट भयो ।

कतारका जहीर इब्राहिम र खुर्रम शहजादले समान १५–१५ रन बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछानेले ५, सोमपाल कामीले ३ र ललित राजवंशीले २ विकेट लिए ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपाल ४० ओभर ३ बलमा १ सय ५७ रनमा अलआउट भएको थियो ।

नेपालका स्पिनर सन्दीप लामिछानेले सर्वाधिक नटआउट ४२ रन बनाए । यस्तै कप्तान रोहित पौडेलले २७ रन बनाए । कतारका आमिर फरूकले ४ र ओइस अहमदले ३ विकेट लिए ।

४ खेलमा ७ अङ्कसहित समूह विजेता बनेको नेपाल यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ ।

नेपालले पहिलो खेलमा मलेसियालाई ६ विकेट, दोस्रो खेलमा ओमानलाई ८४ रनले हराएको थियो भने तेस्रो खेलमा वर्षाका कारण अङ्क बाँडेको थियो ।

यही समूहबाट ओमानले पनि सेमिफाइनलमा स्थान बनाइसकेको छ ।

यस्तै समूह ‘बी’ बाट यूएई सेमिफाइनलमा पुगिसकेको छ ।

प्रतियोगिताको पहिलो सेमिफाइनलमा समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उपविजेतासँग खेल्नेछ ।

यस्तै दोस्रो सेमिफाइनलमा समूह ‘बी’ को विजेताले समूह ‘ए’ को उपविजेतासँग खेल्नेछ ।

सेमिफाइनल शनिवार हुनेछ भने फाइनल सोमवार हुनेछ ।

प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ ।

शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *