सन्दीपले बनाए अन्तर्राष्ट्रिय कीर्तिमान, सबैभन्दा छिटो सय विकेट

काठमाडौँ । नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेले विश्व कीर्तिमान कायम गरेका छन्। शुक्रबार टियू मैदान कीर्तिपुरमा जारी एसिसी प्रिमियर कप अन्तर्गतको ओमान विरुद्धको खेलमा उनले कीर्तिमान बनाएका हुन्।
नेपालले प्रस्तुत गरेको ३११ रनको उच्च स्कोर पछ्याइरहेको ओमानका अदिल साफिकलाई १३ रनको अवस्थामा एलबिडब्लु आउट गर्दै लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक चाँडो १०० विकेटको कीर्तिमान बनाएका हुन्। लामिछानेले आफ्नो पहिलो ओभरमा नै विकेट लिएका थिए।
सन्दीपले रासिद खानले विश्व कीर्तिमान बनाएको ५ वर्षपछि उनको कीर्तिमान भंग गरेका हुन्। रासिदले २०१८ को मार्चमा आफ्नो ४४ औँ इनिङमा वेस्टइन्डिज विरुद्ध विकेट लँदै सर्वाधिक छिटो १०० विकेटको कीर्तिमान बनाएका थिए।
तर सन्दीपल उनको भन्दा २ इनिङ अगाडि उक्त कीर्तिमान आफ्नो नाममा बनाए। रासिदले ४४ खेलमा १ सय विकेट पूरा गरेका थिए। सन्दीपले भने ४२ इनिङमा उक्त कीर्तिमान बनाए।
रासिद अघि मिचेल स्टर्कले २०१६ मा ५२ इनिङमा १०० विकेट लिएर विश्व कीर्तिमान बनाएका थिए। स्टर्कले १९ वर्षपछि विश्व कीर्तिमान भंग गरेका थिए। अर्थात् उनीअघि पाकिस्तानी खेलाडी सक्लैन मुस्ताकाले १९९७ मा ५३ इनिङमा १०० विकेट लिएका थिए।
यसअघि सन्दीप ओडिआईमा ५० विकेट सर्वाधिक छिटो पूरा गर्ने विश्वकै दोस्रो खेलाडी बनेका थिए। सन्दीपले २२ खेलमा ओडिआईमा ५० विकेट पूरा गरेका थिए। १९ औँ खेलमा श्रीलंकाका अजन्था मेन्डिसले ५० विकेट लिँदै सर्वाधिक छिटो ओडिआईमा ५० विकेटको कीर्तिमान बनाएका थिए।
सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध ओडिआईमा डेब्यू गरेका सन्दीपले तीन पटक पाँच भन्दामाथि विकेट लिएका छन्। सन्दीपपछि नेपालबाट ओडिआईमा सर्वाधिक विकेट सोमपाल कामीले लिएका छन्। सोमपाल कामीले ४४ खेलमा ६१ विकेट लिएका छन्। करण केसीले ३८ खेलमा ५६ विकेट लिएका छन्।