सन्दुक रुइत र महावीर पुनलाई पुरस्कार

काठमाडौं । वसुन्धरा–मान प्रतिष्ठानले २०८० सालको वसुन्धराश्री पुरस्कार वरिष्ठ चिकित्सक डा. सन्दुक रुइत र मानश्री पुरस्कार वरिष्ठ वैज्ञानिक डा. महावीर पुनलाई प्रदान गर्ने भएको छ।

प्रतिष्ठानका कुलपति डा. दुबसु क्षेत्रीको अध्यक्षतामा वैशाख ६ गते बसेको विशेष बैठकले स्वास्थ्य शिक्षा, स्वास्थ्य चेतना र नेत्र चिकित्साको सेवाद्वारा नेपाली समाजलाई स्वस्थ, समृद्ध र समुन्नत बनाउन महत्वपूर्ण योगदान गरी विश्व समुदायमा नेपाल र नेपाली जातिको परिचय, पहिचान र प्रतिष्ठा उच्च र अक्षुण्ण राख्न विशिष्ट योगदान गर्ने वरिष्ठ चिकित्सक डा. रुइतलाई २०८० को वसुन्धराश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।

त्यसैगरी बैठकले राष्ट्रिय आविष्कार केन्द्रको माध्यमबाट नेपालमा विज्ञान तथा प्रविधिको विकासमा महत्त्वपूर्ण योगदान गरी विश्व समुदायमा नेपाल र नेपाली जातिको परिचय, पहिचान र प्रतिष्ठा उच्च र अक्षुण राख्न विशिष्ट योगदान गर्ने वरिष्ठ वैज्ञानिक डा. महावीर पुनलाई विसं २०८० को मानश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।

विसं २०११ भदौ १९ गते ताप्लेजुङको ओलाङचुङ्गोलामा जन्मिएका डा. रुइतले तिलगङ्गा आँखा अस्पताल एवं सयौँ शिविरको सञ्चालनद्वारा लाखौँ स्वदेशी तथा विदेशी नागरिकको आँखा उपचार गरी मानवताको सेवा गरेका छन् ।

रुइत यसअघि उज्ज्वल कीर्तिमय राष्ट्रदीप, इसा सम्मान, रोमन म्यागासेसे र पद्मश्री विभूषणलगायत दर्जनौँ सम्मान तथा पुरस्कारबाट सम्मानित भइसकेका छन् ।

विसं २०११ माघ ९ गते म्याग्दीको नाँगीमा जन्मिएका डा. पुन नेपालमा शिक्षा, सञ्चार प्रविधि र विज्ञानको विकासमा पुर्‍याएको अतुलनीय योगदानका लागि रोमन म्यागासेसे र जोनाथन पोस्टेललगायत दर्जनौँ सम्मान, पदक तथा पुरस्कारद्वारा सम्मानित भइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *