चर्कियो गर्मी, तराईको जनजीवन प्रभावित

काठमाडौं । केही दिनयता तराईका जिल्लामा गर्मी अत्यधिक बढेको छ । यसपटक गर्मी मौसमको सुरुआतमै तापक्रम निक्कै बढेपछि जनजीवन प्रभावित बनेको छ ।

लामो समयदेखि पानी नपर्दा मौसम सफा हुन सकेको छैन । धुम्म भएर उकुसमुकुस बनाउने खालको मौसम कायम छ । यस्तै विभिन्न स्थानमा लागेको डढेलो, प्रदूषणका कारण तापक्रम बृद्धिमा सहयोग पुगिरहेको छ ।

वैशाख सुरुदेखि नै पूर्वी तराईदेखि पश्चिमसम्म तापक्रम बढेको छ । मधेस प्रदेशको राजधानी जनकपुरमा गत वर्ष वैशाख ५ गते अधिकतम तापक्रम ३४ दशमलव ५ डिग्री सेल्सियस थियो ।

अहिले तीन दिनयता सबभन्दा बढी ४० दशमलव ८ डिग्री मापन गरिएको जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय जनकपुरका राजीवकुमार झाले जानकारी दिए ।

सामान्यतः तराईमा ४० डिग्री पुग्दा र तीन दिनसम्म असामान्य रूपमा तापक्रम बढ्दा जोखिमपूर्ण लु चलेको मानिन्छ ।

गत वर्षभरिको तुलनामा अहिले नै मधेसमा १ दशमलव ३ डिग्री सेल्सियस तापक्रम बढी छ । एक सातादेखि बिहान पूर्वी र दिउँसो पश्चिमी तातो वायु चलेका कारण जनजीवन प्रभावित बनेको छ ।

कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा पनि अत्याधिक गर्मी बढेको छ । मौसम विभागका अनुसार धनगढीको अधिकतम तापक्रम ३८.२ नेपालगन्जको ४०.६ भैरहवाको ४२.२ सिमराको ४०।३ र विराटनगरको ३९ डिग्री पुगेको छ ।

चर्को गर्मीका कारण बजार र अन्य सार्वजनिक स्थानमा सर्वसाधारणको चहलपहलमा कमी आएको छ ।

यसले गर्दा व्यापार व्यवसाय प्रभािवत बनेको छ । सर्वसाधारणले गर्मी र चर्को घामबाट जोगिन रुखमुनि विश्राम गर्नुका साथै लस्सी, सातु, जुसलगायत शीतल पेय पदार्थ अत्यधिक सेवन गर्ने गरेका छन् ।

यसका साथै काँक्रो, तरबुजा र शीतल प्रदान गर्ने हरियो तरकारीको बिक्री पनि बढेको छ । अत्यधिक गर्मी र चर्को घामका कारण विभिन्न प्रकारको मौसमी रोग देखापर्नुका साथै लु लाग्ने जोखिमसमेत बढेको चिकित्सकहरुको भनाइ छ ।

गर्मीबाट उत्पन्न हुने रोगहरुबाट जोगिन ताजा र सफा खाना मात्र खान, अत्याधिक पानी पिउन, घाममा जथाभावी ननिस्किन, घरबाहिर निस्किनै पर्दा छाता र जिउभरि लुगा लगाएर मात्र निस्किन चिकित्सकको सुझाव छ ।

वार्षिक परीक्षापछि विदा दिइएका विद्यालयहरु अब बिस्तारै खुल्ने तरखरमा छन् । कतिपय विद्यालयहरु सञ्चालन सुरु भइसकेका छन् ।

अत्यधिक गर्मी रहेकाले विद्यार्थीहरु पनि प्रभावित बनिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *