सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशकसहित ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं । सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित ९ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार अभियोगमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
‘पावर सिस्टम इन सेक्युरिटी प्रिन्टिङ प्रेस एन्ड प्रेसराइज्ड फ्युल स्टोरेज ट्यांक’ खरिद कार्यमा मिलोमतो गरी कमिसन लिएर ठेक्का दिएको भन्दै अख्तियारले मुद्दा दायर गरेको जनाएको छ।
आयोगका प्रवक्ता भोला दाहालका अनुसार कार्यकारी निर्देशक पौडेलसहित ९ जनाको मिलेमतोमा इलेक्ट्रिक ट्रान्सफर्मर स्वीकार गर्ने, सम्झौतामा उल्लेख भएभन्दा फरक जेनेरेटर स्वीकार गरी भुक्तानी गर्ने, खरिद सम्झौताबमोजिम कामै नगरी संरचना सञ्चालनबापत र आपूर्तिपछिको सेवावापत अग्रिम भुक्तानी दिनेलगायत आरोपमा उनीहरुलाई दोषी ठहर गरी मुद्दा दायर गरिएको हो ।
अख्तियारले पौडेलसहित सीडीई नवीनकुमार पोखरेल, रमेशकुमार पोखरेल, मनिकमान महर्जन, रामबहादुर बुढा, शिरीष उपाध्याय, रोहितमान प्रधान, भुवन महर्जन र मित्रलाल गुरौमाथि विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।
अख्तियारले विकलसँग ६९ करोड ८ लाख, नवीनसँग ४९ करोड ४६ लाख, रमेशप्रसादसँग २० करोड ३८ लाख, मनिकमानसँग ३ करोड ४४ लाख, रामबहादुरसँग १९ करोड ८८ लाख, शिरीषसँग ४० करोड एक लाख, रोहितमानसँग २३ करोड ४४ लाख, भुवनसँग ४३ करोड ५७ लाख र मित्रलालसँग आठ लाख ६९ हजार रुपैयाँ बिगो माग दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।