नयाँ वर्षदेखि लागू हुने गरी बैंकहरुले निक्षेपको ब्याजदर घटाए

काठमाडौं । वाणिज्य बैंकहरूले वैशाखदेखि लागू हुने गरी निक्षेपको ब्याजदर घटाएका छन् ।
नेपाल बैंकर्स संघको बुधबार बसेको बैठकले मुद्दती तथा बचत खाताको ब्याजदर घटाउने निर्णय गरेको हो ।
संघको नयाँ निर्णयपछि ग्राहकले बैंकबाट पाउने ब्याजदर १० प्रतिशतभन्दा कम हुने भएको छ ।
व्यक्तिगत मुद्दती खातामा बैंकले वैशाखदेखि अधिकतम ९.९९ प्रतिशतसम्म ब्याज दिने भएका छन् ।
बैंकहरुले यसअघि पुस मसान्तसम्म व्यक्तिगत मुद्दती खातामा अधिकतम १२.१३३ प्रतिशतसम्म ब्याज दिँदै आएका थिए ।
त्यसपछि माघदेखि लागू हुने गरी ११ प्रतिशतमा झारिएको थियो ।
संस्थागत खातामा वैशाखदेखि बैंकले ७.९ प्रतिशतसम्म ब्याज दिनेछन् । हाल संस्थागत मुद्दतीमा ९ प्रतिशतसम्म ब्याज छ ।
बैंकहरुले वैशाखदेखि साधारण बचतमा ५.४ देखि ७.४ प्रतिशतसम्म ब्याज दिनेछन् । हाल साधारण बचतमा न्यूनतम ६ प्रतिशत ब्याज दिँदै छन् ।
नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले निक्षेपको स्रोतका रूपमा रहेको रेमिट्यान्स, शोधनान्तर स्थितिलगायत बाह्य सूचकमा सुधार आएकाले ब्याजदर घटाइएको बताए ।