कोरा र सतही फेरबदलले खँदिलो परिणाम नदिने पूर्वराजाको टिप्पणी

सुनसरी । पूर्वराजा ज्ञानेन्द्र शाहले कसैलाई धन, कसैलाई मन, कसैलाई पद र कसैलाई कद दिएर, लोभ्याएर सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको टिप्पणी गरेका छन् ।
सुनसरीको इनरुवामा सोमबार आयोजित नागरिक अभिनन्दन कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
परिवर्तन देखाउन अहिलेको कोरा र सतही फेरबदल आलटाल र टालटुलको प्रणालीले कुनै खँदिलो परिणाम नदिने पनि उनले उल्लेख गरे ।
बदलिँदो राज्य व्यवस्थाले सामाजिक संरचना कमजोर भइरहेको उनले बताए ।
राज्य पद्धति, शान्ति एवं अनुशासनबिना हुन नसक्ने पूर्वराजा शाहको भनाइ थियो ।
‘निश्चय पनि हामीले राष्ट्रियता र राष्ट्र एकताको रक्षा गर्नु छ, हामीले हाम्रो राष्ट्रिय स्वाभिमान, अखण्डता तथा सार्वभौमिक स्वतन्त्रता जोगाउनु छ र निश्चय पनि हामीले शान्ति, सुव्यवस्था र सुशासनका माध्यमबाट चौतर्फी विकासको बाटो लाग्नु छ’ पूर्वराजा शाहले भने ।
व्यक्ति, परिवार, समूह, दल वा गुट उपगुटमा अल्झिएर होइन अब हामी र हाम्रो भन्ने सुहाउँदो राष्ट्रिय अवधारणालाई प्रवाह गर्न सक्नु पर्ने धारणा उनले राखेका थिए ।