भागबन्डा मिलाउन सत्ता गठबन्धनबीच छलफल जारी

काठमाडौं । मन्त्रालयको भागबन्डा मिलाउने विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुटारमा सुरु भएको छ ।
बैठकमा दलहरुबीच मन्त्रालयको भागबन्डा मिलाउने साथै सरकारको न्यूनतम साझा कार्यक्रममा सहमति जुटाइने जनाइएको छ ।
मंगलबार साँझ पनि गठबन्धन आबद्ध दलका नेताहरुको बैठक बसेको थियो । उक्त बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा दलका नेताहरुलाई अध्ययनका लागि वितरण गरिएको थियो ।
अध्ययनपछि नेताहरुले दिने सुझावसमेत समेटेर अन्तिम रुप दिने तयारी रहेको नेताहरुले बताएका छन् ।
मन्त्रिपरिषद विस्तार गर्ने कामका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिनयता अन्य दलका नेताहरुसँग छलफल गर्दै आएका छन् ।
विभिन्न दलहरुले सकेसम्म बढी मन्त्रालय लिने साथै महत्वपूर्ण मन्त्रालयमा दाबी कायम राखेकाले विस्तारको काम अघि बढ्न पाएको छैन ।
सत्तारुढ घटक नेपाली कांग्रेसले अर्थसहित आठवटा मन्त्रालयमा दाबी गरिरहेको छ ।
नेकपा माओवादी केन्द्रले गृह मन्त्रालय आफूले राख्ने भएपछि कांग्रेसलाई अर्थ मन्त्रालय दिन सहमत भएको बुझिाएको छ ।
एकीकृत समाजवादी र जसपा कम्तीमा तीन–तीन मन्त्रालय आफूहरुले पाउनुपर्ने अडानमा छन् । लोकतान्त्रिक समाजवादी पार्टीले दुई मन्त्रालयमा दाबी गरेको छ ।
भागबन्डा नमिलेकै कारण चैत ६ गते प्रतिनिधिसभाबाट दोस्रो पटक विश्वासको मत लिएका प्रधानमन्त्री दाहालले अझै मन्त्रिपरिषदलाई पूर्णता दिन सकिरहेका छैनन् ।