‘महत्वपूर्ण’ मन्त्रालयहरू पाउनुपर्ने दलहरुको अडान

काठमाडौं । मन्त्रिपरिषद विस्तार गरी पूर्णता दिने विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज मंगलबार बस्ने निधो भएको छ ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे बस्ने तय भएको छ । मन्त्रालय भागबन्डाको विषयमा छलफल गरी टुंग्याउने प्रयास हुने नेताहरुले बताएका छन् ।

गठबन्धनको बैठकमा मन्त्रालयको भागबन्डा र मन्त्रीको नाम टुंगो लगाउने दलहरुको तयारी छ । त्यसका लागि सहमति जुटाउन बैठक बस्न लागेको हो ।

सत्तारुढ घटक नेपाली कांग्रेसले अर्थसहित आठ वटा मन्त्रालयमा दाबी गरिरहेको छ ।

माओवादीले गृह मन्त्रालय आफूले राख्ने भएपछि कांग्रेसलाई अर्थ मन्त्रालय दिन सहमत भएको छ ।

प्रधानमन्त्री दाहालले कांग्रेसलाई अर्थसहित सात मन्त्रालयमा मात्रै लिन आग्रह गर्दै आएका छन् ।

यस्तै, एकीकृत समाजवादीले कम्तीमा तीन मन्त्रालय पाउनु पर्ने अडान लिएको छ । धेरै दललाई सरकारमा समेट्नु परेकाले प्रधानमन्त्री दाहाललाई मन्त्रिपरिषद विस्तारमा सकस देखिएको हो ।

चैत ६ गते प्रतिनिधिसभाबाट दोस्रो पटक विश्वासको मत लिएका प्रधानमन्त्री दाहालले एक साता बित्दा पनि मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् ।

साना दललाई व्यवस्थापन गर्दै सरकारमा सहभागी गराउनु प्रधानमन्त्रीका लागि चुनौती बनेको छ ।

पुस १० गते बनेको गठबन्धन टुटेसँगै एमाले, राप्रपा र रास्वपाले सरकार छाडेपछि प्रधानमन्त्री दाहाल एक्लैले १६ मन्त्रालय हेर्दै आएका छन् ।

महत्वपूर्ण मन्त्रालयहरुमा धेरै दलहरुले आकांक्षा देखाएपछि भागबन्डा मिल्न सकेको छैन । मन्त्रालय बाँडफाँटको कुरामा आज सहमति भए आजै मन्त्रिपरिषद विस्तार हुन सक्ने सम्भावना रहेको नेताहरुले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *