थ्री नेसन्स कपः नेपाल र भुटान भिड्दै

काठमाडौं । ‘प्रधानमन्त्री थ्री नेसन्स कप’ फुटबल प्रतियोगितामा नेपालले आज मंगलबार भुटानसँग प्रतिस्पर्धा गर्दै छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला साँझ ६ बजे खेल सुरु हुनेछ । आजको खेलमा एक गोल अन्तरको हारले पनि नेपाल फाइनल पुग्नेछ ।
नेपालले पहिलो खेलमा लाओसलाई २-० गोलले पराजित गरेको थियो ।
चोटका कारण पहिलो खेल खेल्न नसकेका स्ट्राइकर अञ्जन बिष्ट आज खेल्ने सम्भावना रहेको जनाइएको छ ।
भुटानविरुद्ध ह्याट्रिक गरे अञ्जनले नेपाली राष्ट्रिय टिमबाट सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाउनेछन् । उनको नाममा ११ गोल छ ।
अहिले सर्वाधिक गोल गर्ने नेपाली खेलाडीको कीर्तिमान संयुक्त रूपमा हरि खड्का र निराजन रायमाझीको नाममा छ । उनीहरूले समान १३-१३ गोल गरेका छन् ।
चेन्चो ग्याल्सेनको टोली भुटान भने पुनरागमनको प्रयासमा हुनेछ । लाओससँग भुटान दुई एक गोलले हारेको थियो ।
नेपालविरुद्ध दुई गोल अन्तरको जित हात पारे भुटानले फाइनलमा स्थान बनाउनेछ । यो अवस्थामा लाओस बाहिरिनेछ ।
भुटानसँग तीन गोल अन्तरको हारले नेपालको फाइनल खेल्ने सपना समाप्त हुनेछ ।
आजको खेललाई चेन्चो र नेपाली टिमका कप्तान किरण चेम्जोङ बीचको प्रतिस्पर्धाका रूपमा पनि हेरिएको छ ।
भारतीय लिगमा यी दुईले एउटै क्लब क्लबबाट खेल्दै आएका छन् । पछिल्लो पटक भुटानले नेपालसँग सन् २०१९ मा भएको १३ औं दक्षिण एसियाली सागमा प्रतिस्पर्धा गरेको थियो ।