कसरी मिल्ला सत्ताको भागबन्डा ?

काठमाडौं । दलहरुबीच भागबन्डा नमिल्दा ढिलाइ भइरहेको मन्त्रिपरिषद विस्तारको कामले अब गति लिने संकेत देखिएको छ ।

मन्त्रिपरिषद विस्तारमा ढिलाइ भइरहँदा सत्ता साझेदार दलहरुबीच सबेसम्म बढी र महत्वपूर्ण मन्त्रालय लिने खालका भनाइ सार्वजनिक रुपमै व्यक्त भइरहेका छन् ।

यसले गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाललाई सरकारलाई पूर्णता दिन सकस परेको हो ।

यही क्रममा सत्ता साझेदारीबारे भागबन्डा मिलाउन गठबन्धन दलहरुको बैठक आज आइतबार बस्ने भएको छ ।

प्रतिनिधिसभामा दोस्रोपटक विश्वासको मत लिए लगत्तै चैत १० गतेभित्र मन्त्रिपरिषद् विस्तार गर्ने बताएका प्रधानमन्त्री दाहालले भनेजस्तो सहज देखिएको छैन ।

आज हुने बैठकबाट मन्त्रालय बाँडफाँड र सरकारमा जाने दलहरुको टुङ्गो लगाउने तयारी गरिएको एक नेताले बताएका छन् ।

खासगरी सरकारलाई विश्वासको मत दिएका सबै दललाई समेट्ने र गृह तथा अर्थजस्ता महत्वपूर्ण मन्त्रालयमा कसरी भाग मिलाउने भन्ने सहमति नहुँदा मन्त्रिपरिषद बिस्तारमा सकस देखिएको हो ।

माओवादी केन्द्रको पदाधिकारी बैठकले आज र भोलि गठबन्धन दलसँग छलफल गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री दाहालले यसबीचमा गठबन्धनका केही घटकसँग मन्त्रिपरिषद विस्तारबारे छलफल गरेका छन् ।

फरक फरक रुपमा गरिएको छलफलमा सहमति भने जुट्न सकेको छैन ।

त्यही कारण प्रधानमन्त्री दाहालले गठबन्धनमा आबद्ध दलका नेताहरुसहित बैठक राखेर मन्त्रालय बाँडफाँडको प्रस्ताव गर्ने भएका हुन् ।

माओवादीले गृह मन्त्रालय आफैँसँग राख्न चाहेको छ । कांग्रेसले अर्थ मन्त्रालय लिने भएपछि माओवादील‍े गृहमन्त्रालय लिने सम्भावना देखिएको छ ।

माओवादीका एक नेताका अनुसार मन्त्रिपरिषद विस्तार हुँदा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको जिम्मेवारी हेरफेर हुने भएको छ ।

उनलाई उपप्रधानसहित गृहमन्त्री बनाउने प्रधानमन्त्री दाहालको तयारी रहेको बुझिाएको छ ।

सत्ता घटक दल कांग्रेसले अर्थसहित कम्तीमा आठ मन्त्रालयमा दाबी गरेको छ ।

कांग्रेसको पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तारका बारेमा अन्य दलसँग भएको छलफलबारे जानकारी गराएका छन् ।

प्रधानमन्त्री दाहालले कांग्रेसलाई सात मन्त्रालय लिएर सहयोग गरिदिन आग्रह गरिरहेको कांग्रेस बैठकमा जानकारी गराइएको थियो ।

८ मन्त्रालयमा कांग्रेसको दाबी

सरकारमा सहभागी हुन नेपाली कांग्रेसले ८ वटा मन्त्रालय दाबी गर्ने भएको छ ।

शनिबार दिउँसो सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको कांग्रेस पदाधिकारी बैठकमा यसबारे छलफल भएको थियो ।

उपसभापति पूर्णबहादुर खड्काले नयाँ मन्त्रिपरिषद्मा कांग्रेसको तर्फबाट ८ वटा मन्त्रालय दाबी रहेको जानकारी गराएका थिए ।

भागबण्डामा अल्झियो मन्त्रिपरिषद विस्तार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *