भागबण्डामा अल्झियो मन्त्रिपरिषद विस्तार

काठमाडौं । सत्ता साझेदार राजनीतिक दलहरुबीच सहमति जुट्न नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ । मन्त्रालयको भागबण्डामा कुरा नमिल्दा मन्त्रिपरिषद् विस्तार अवरुद्ध बनेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहालले संसदबाट विश्वासको मत लिएपछि मन्त्रिपरिषदलाई पूर्णता दिने बताउँदै आएका थिए ।
तीन महिनामै दोस्रोपटक विश्वासको मत लिएका प्रधानमन्त्री दाहालले त्यसयता मन्त्रिपरिषद् विस्तारको गृहकार्य अघि बढेको भने बताएका छन् ।
संसद्मा सिट संख्याका आधारमा मन्त्रालय भागबन्डाको प्रस्ताव प्रधानमन्त्री दाहालले साझेदार दलका शीर्ष नेताहरुसँग राखेका छन् ।
नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रालय संख्या बढी मागेपछि कुरा नटुंगिएको चर्चा छ ।
महत्वपूर्ण मन्त्रालय मानिने अर्थ, गृहलगायत मन्त्रालयमा दलहरुको ध्यान छ । ती कसले लिने भन्ने टुंगो नलाग्दा पनि अलमल देखिएको हो ।
प्रधानमन्त्रीले चैत १० गतेसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको उनी निकटस्थ नेताहरुले बताएका छन् ।
एमालेसहितको समर्थनमा गत पुस १० मा प्रधानमन्त्री नियुक्त भएका दाहालले कांग्रेससँग समीकरण बनेसँगै संसद्बाट दोस्रोपटक विश्वासको मत लिएका हुन् ।
आमनिर्वाचनपछि कांग्रेस नेतृत्वको गठबन्धनमा रहेको माओवादी केन्द्र सरकारको नेतृत्वमा कुरा नमिल्दा एमालेसँग सहकार्य गर्न पुगेको थियो ।
राष्ट्रपति निर्वाचनका बेला एमालेसँग बेमेल भएपछि फेरि कांग्रेससहितको गठबन्धन बनेको हो । त्यसबाट दाहाल प्रधानमन्त्री बन्न सफल भएका हुन् ।
दलहरुबीचको सहमतिका आधारमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचिन भइसकेका छन् ।