कोरिया जाने नेपाली कामदारको संख्या बढ्दो

काठमाडौँ । रोजगारीका लागि दक्षिण कोरिया जाने नेपालीको संख्या बढेको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत प्रत्येक महिना दुई हजार नेपाली दक्षिण कोरिया जाने भएका छन् ।

दक्षिण कोरियाले फेब्रुअरीदेखि प्रत्येक महिना दुई हजार नेपाली युवा कोरिया लैजान थालेको हो ।

वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखाका अनुसार सन् २०२३ मा २२ हजार नेपाली युवा ईपीएसमार्फत दक्षिण कोरिया पठाउने गरी काम भइरहेको छ ।

पछिल्लो पटक दक्षिण कोरिया सरकारको मानव संशाधन विभागले श्रमिक आपूर्तिबारे लचकता अपनपाउँदै जुन देशले छिटो श्रमिक पठाउन सक्छ त्यही देशलाई बढी कोटा दिने नीति लिएको छ ।

ईपीएस कोरिया शाखाका निर्देशक पुष्पराज कटुवालका अनुसार दक्षिण कोरिया सरकारले तोकेका प्रक्रिया पूरा गरेर छिटो र छरितो रूपमा श्रमिक पठाउन सकिएकाले यसपटक नेपालले बढी कोटा प्राप्त गरेको हो ।

कोरोना महामारीका बेला सुस्ताएको आर्थिक गतिविधि पछिल्लो समय बढेसँगै कोरियामा विदेशी श्रमिकको आवश्यकता बढेको छ । यही कारण कोरिया सरकारले मापदण्ड पूरा गरेर छोटो समयमा पठाउन सक्नेलाई प्राथमिकतामा राखेको छ ।

सन् २०२२ मा करिब १५ हजार युवा ईपीएसमार्फत दक्षिण कोरिया पुगेका छन् ।

नेपाली युवा कोरियामा मुख्य गरी दुई क्षेत्र कृषि तथा पशुपालन र उत्पादनमूलक क्षेत्रमा काम गर्न जाने गरेका छन् ।

ईपीएस शाखाका अनुसार सन् २०२३ मा ईपीएसमार्फत कृषि तथा पशुपालनतर्फ मात्रै १० हजार ७५८ जनाको माग आएको छ ।

कोरियाले उत्पादनमूलक, कृषि तथा पशुपालन, सेवा, निर्माण क्षेत्रमा विभिन्न १६ देशबाट श्रमिक माग गर्दै आए पनि नेपालबाट भने कृषि र उत्पादनमूलक क्षेत्रमा मात्र श्रमिक माग गरिँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *