इन्डो-नेपाल क्रिकेट: भारतलाई हराउँदै नेपालको विजयी शुरुवात

विराटनगर । प्रथम रेडमण्ड इन्डो–नेपाल मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगितामा नेपालको विराटनगर क्रिकेट क्लव एण्ड एकाडेमी (बीसीसीए) ले विजयी शुरुवात गरेको छ ।

बीसीसीएले चार खेलको शृङ्खलाअन्तर्गत पहिलो खेलमा भारतको अल इन्डिया वुमन टि–२० क्रिकेट एसोसिएनलाई ९ विकेटले पराजित गरेको हो ।

नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगर–६ मा रहेको मेल्बन ज्वाला क्रिकेटको खेल मैदानमा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित १७ ओभरमा ९ विकेट गुमाई ६६ रनको सामान्य स्कोर बनाएको थियो ।

भारतीय टोलीका लागि कप्तान रुतु भोस्लेले २० रन बनाउँदा दिक्षा सिंहले ११ रन बनाइन् । नेपालकी अन्तर्राष्ट्रिय खेलाडी अस्मिता कर्माचार्यले ४ ओभरमा १ मेडन राख्दै ३ विकेट लिइन् ।

उनी खेलको प्लेयर्स अफ द म्याच समेत घोषित भइन् । त्यस्तै नेपाली टोलीकी कप्तान रुविना क्षेत्री, टिका साह, सवनम राई र कविता गौतमले १–१ विकेट लिए ।

जवाफमा ६७ रनको झिनो लक्ष्य पछ्याएको बीसीसीएले १० ओभरमा १ विकेट गुमाई सो विजयी लक्ष्य भेटाएको थियो । बीसीसीएका लागि नेपालकी विकेट किपर काजल श्रेष्ठले ३७ रनमा अविजित हुँदा अर्की अन्तर्राष्ट्रिय खेलाडी अप्सरी वेगम ४ रनमा अविजित भइन् । त्यस्तै अन्तर्राष्ट्रिय खेलाडी सम्झना खड्का २१ रन बनाएर आउट भइन् । भारतकी मिनाक्षी कबदालले १ विकेट लिइन् ।

प्रतियोगिता चैत ७ गतेसम्म हुने प्रतियोगितामा इन्डियाको अल इन्डिया वुमन टि–२० क्रिकेट एसोसिएन र विराटनगर क्रिकेट क्लब एण्ड एकेडेमीबीच मैत्रीपूर्ण प्रतियोगिता हुने नेपाल क्रिकेट फाउन्डेसनका अध्यक्ष अभिषेक श्रेष्ठले बताए ।

५० ओभरको १ खेल र ३ वटा टि–२० प्रतियोगिता हुने छ ।

विराटनगर क्रिकेट क्लब एण्ड एकेडेमीको तर्फबाट नेपाली टोलीकी कप्तान रुबिना क्षेत्रीले कप्तानी गरेकी छन् ।

विराटनगरको तर्फबाट काजल श्रेष्ठ, सुबनम राई, अपना बेगम, कविता जोशी, सम्झना खड्का, अस्मिना कर्माचार्य, कविता गौतम, सानु राजवंशीलगायतका अन्तर्राष्ट्रिय महिला खेलाडीहरुले खेल्ने छन् ।

प्रतियोगिता सम्पन्न गर्न करिब २ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताको विजेतासहित बेस्ट ब्याटर, बेस्ट बलर, बेस्ट प्लेयर अफ द टुर्नामेन्ट, बेस्ट किपरले पुरस्कार पाउने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *