कपिलवस्तुमा विश्वकै ठूलो बुद्ध मूर्ति बनाइने

काठमाडौं । कपिलवस्तुमा बुद्धको विशाल मूर्ति बनाइने भएको छ । उक्त मूर्ति विश्वकै सबैभन्दा ठूलो हुने दाबी गरिएको छ ।
कपिलवस्तु नगरपालिका क्षेत्रभित्र २४५ मिटर अग्लो बुद्ध मूर्ति बनाइने भएको हो ।
अन्तर्राष्ट्रिय बुद्धिष्ट सेन्टरका प्रमुख चोइङ क्विई सेङ स्टेवार्ड, सेन्टरका नेपाल प्रतिनिधि मोहन गौतम र कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेल यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।
गौतम बुद्धले २९ वर्ष बिताएको झल्को दिने गरी मूर्ति निर्माण गरिने अन्तर्राष्ट्रिय बौद्धिष्ट केन्द्रका सेन्टरका नेपाल प्रतिनिधि गौतमले जानकारी दिए ।
कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेलले विश्वको सबैभन्दा ठूलो मूर्ति नगरमा बन्नु गर्वको विषय भएको बताए । यसमा सबैले सहयोग गर्न उनले आग्रह पनि गरेका छन् ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले कपिलवस्तुको विकासमा मूर्ति निर्माणले नयाँ आयाम थपिने बताए ।
लुम्बिनीमा विश्वभरिबाट श्रद्धालुहरु आउने गरेका छन् । बुद्धको जन्मभूमिमा आएर ध्यान गर्ने अनि बौद्ध धर्मसम्बन्धी ज्ञान लिनेहरुको संख्या उल्लेख्य हुने गरेको छ ।
–प्रतीकात्मक तस्बिर। पिक्स्वे ।