क्रिकेट खेलाडीलाई जनही ३ लाखसहित पुरस्कृत गरिने

काठमाडौं । विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको नेपाली क्रिकेट टोलीका खेलाडीलाई सरकारले जनही ३ लाख रुपैयाँ पुरस्कार दिने भएको छ ।
शुक्रबार बिहान सरकारी निवास बालुवाटारमा खेलाडीहरूसँगको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहालले उक्त पुरस्कारको घोषणा गरेका हुन् ।
कीर्तिपुरस्थित क्रिकेट मैदानमा बिहीबार भएको खेलमा यूएईविरुद्ध ९ रनको जित हासिल गर्दै विश्वकप क्वालिफायरमा नेपाली टिम पुगेको हो ।
भेटका क्रममा बधाई दिँदै प्रधानमन्त्री दाहालले राष्ट्रिय टिमका सदस्यहरूलाई जनही ३ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेका हुन् ।
मूलपानी, चितवनलगायत देशका विभिन्न स्थनमा निर्माणाधीन क्रिकेट रंगशाला निर्माण कार्य चाँडो अघि बढाउन सरकारले पहल गर्ने पनि उनले बताएका थिए ।
प्रधानमन्त्री दाहालले कीर्तिपुरस्थित क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लडलाइट र स्कोर बोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिएको जनाइएको छ ।