क्रिकेटमा नेपालको सफलता : १२ खेल, ११ जित

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा नेपालले यूएईलाई हराएर विश्व कप क्रिकेटको क्वालिफायरमा पुगेको छ ।
त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको ३ सय ११ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २ सय ६९ बनाएको थियो ।
त्यसपछि पानी परेर खेल रोक्दै ‘डकवर्थ लुइस’ नियमका आधारमा ९ रनले नेपाल विजयी भएको हो ।
नेपालले जिम्बाब्वेमा हुने क्वालिफायरमा दक्षिण अफ्रिका, श्रीलङ्का, लगायतका टेष्ट मान्यता प्राप्त देशसँग खेल्ने सम्भावना बढेको छ ।
लिग टू मा ४० अङ्क जुटाएर नामिबियालाई पछि पार्दै नेपाल तेस्रो नम्बरमा पुगेको छ । आजको खेलमा नेपालमा ४ जना खेलाडीले अर्धशतक बनाए ।
कुशल भुर्तेलले ५०, भीम सार्कीले ६७, आरिफ शेख ५२ र गुल्सन झाले ५० रन बनाए । यूएईका जुनैद सिद्दिकीले ३ विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १० रन बनायो । उसका लागि आशिफ खानले १ सय १ रन बनाए । उनले ४० बलमै शतक पूरा गरे ।
वृत्य अरविन्दले ९४, मोहम्मद वासिमले ६३ रन र रोहन मुस्ताफाले २० रन बनाए । बलिङतर्फ नेपालका दिपेन्द्रसिंह ऐरीले दुई तथा ललित राजवंशी, सोमपाल कामी र सन्दीप लामिछानेले एक–एक विकेट लिए ।
नेपाल १२ खेलमा नेपाल ११ वटामा विजयी भएको छ ।