नेपालले ९ विकेटले पीएनजीलाई हरायो, अर्को खेल जिते विश्वकप छनोटमा

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई पराजित गरेको छ ।
जित निकाल्दै नेपालले लिग–२ मा ३५ खेलबाट ३८ अंक जोडेको छ । पीएनजीले ३५ खेलबाट ११ अंक जोडेको छ ।
नेपालले अब एक खेलमा जित हासिल गरे विश्वकप छनोट खेल्न पाउनेछ ।
त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले पीएनजीलाई ९ विकेटले पराजित गरेको हो । पीएनजीले दिएको ९६ रनको लक्ष्य पछ्याएको नेपालले ७ ओभर ४ बलमा एक विकेट गुमाउँदै १०० रन बनायो ।
नेपालका आसिफ शेखले अर्धशतकीय पारी खेले । २१ बल खेलेका उनले ८ चौका र ३ छक्काको सहयोगमा ५३ रन बनाए ।
कुशल भुर्तेलले १४ बलमा ४ चौका र २ छक्काको सहयोगमा ३३ रन बनाए । कुशल मल्लले १२ रन बनाए । पीएनजीका लागि काड सोपरले एक विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले ३२ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ९५ रन बनाएको थियो ।
पीएनजीका लागि असाड भालाले सर्वाधिक २० रन बनाए । त्यस्तै सेसे बाउले १८ रन बनाउँदा कार्लेस आमिनी १६, हिरी हिरीले १४ रन बनाउनबाहेक अन्य ब्याट्म्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालका सन्दीप लामिछानेले सर्वाधिक पाँच विकेट लिए । १० ओभर बलिङ गरेका सन्दीपले १ मेडेन ओभरसँगै २५ रन खर्चे ।
नेपालका ललित राजवंशी र कुशल मल्लले दुई–दुई विकेट लिए । सोमपाल कामीले एक विकेट लिए ।